बाँके । अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर बाँकेका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । मुलुकी अपराध संहिता ऐन–२०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल चिकित्सक संघ, चिकित्सक समाज लगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघसंस्थाको अगुवाइमा एप्रोनसहित आन्दोलनमा उत्रिएका डाक्टरहरुले चिकित्सकहरूले मुलुकी अपराध संहितामा रहेको इलाज सम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका छन् ।
उनीहरुले नेपालगन्जको भेरी अस्पतालमा जम्मा भई जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा चिकित्सकहरुले आफ्ना माग सम्बोधन नभएको खण्डमा आगामी शुक्रबारसम्म बिभिन्न बिरोधका कार्यक्रमहरु गर्ने चेतावनीसम्म दिएका छन् ।
भदौ १ गतेदेखि लागू भएको फौजदारी संहिताका कतिपय प्रावधानले आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको चिकित्सकहरूले बताउँदै आएका छन् । उनीहरुले फौजदारी संहिताका कतिपय प्रावधान संशोधन र कतिपय प्रावधान खारेज गर्न नेपाल सरकारलाई दिएको १५ दिनको समयमा कुनै ठोस कदम नचालेका कारण आन्दोलनमा उत्रिनुपरेको डा. बिनोद कर्णले जानकारी दिए ।
।