बाँके । बाँकेमा दिन प्रतिदिन लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले बाँकेमा दिन प्रतिदिन प्रयोगकर्ता बढिरहेको देखाउँछ ।
बाँके प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकले लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी घट्नुका साटो बढिरहेको देखिन्छ । यसमा लागुऔषध प्रयोगकर्ता किशोरी पनि रहेको पाइएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीहरुले पनि प्रयोग गर्दै आएको बाँके प्रहरीको तथ्यांक छ ।
साथीहरुको लहलहैमा लागेर लागुऔषधको कुलतमा पसेका प्रायः किशोरीहरु यौन धन्दामा रहेको जानकारहरु बताउँछन् । बाहिरी जिल्लामा नेपालगन्जमा पढ्न या अरु कुनै काम विशेषले बसेका तथा यहीँका स्थानीय किशोरीहरु पनि कुलतमा फसेको देखिएको छ । अभिभावकले पढ्न पठाएका किशोरीहरु शहरमा आएपछि साथीको लहलहैमा कुलतमा फसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा ११ जना किशोरी लागुऔषधमा पक्राउ परेका छन् । मुद्दाफाँटका इन्चार्ज एवं प्रहरी निरीक्षक रणबहादुर बिष्टले पुरुष साथीसँग लागेर किशोरकिशोरी कुलतमा फस्ने गरेको बताए । उनका अनुसार गएको तीन वर्षमा लागुऔषध प्रयोगकर्ताको संख्या दोब्बर भएको छ ।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा बाँके प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेको थियो । ७८ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० सय ग्राम चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम ५ किलो र गाजा १५ ग्राम बरामद गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा लागुऔषधसहित १८९ जनालाई पक्राउ गरिएको र १३७ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, ५ लिटर २०० मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा २४३ जनालाई पक्राउ परेका र १४७ वटा मुद्दा दर्ता भए । ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, ७ किलो ३०० ग्राम अफिम, १०० ग्राम गाजा, २ हजार ६५० मिलिलिटर कोरेक्स, ३ हजार ९२६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिएका छन् । गत आर्थिक वर्षमा ३ हजार ९३६ ट्याब्लेट पक्राउ पर्नुले पनि यस्तो देखिन्छ । खाना सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा समेत जोड दिएको पाइएको छ ।
अझ विशेषगरी ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाई छ । बाटोको पहुँच पुगेपछि जुम्लाबाट समेत लागुऔषध लिन रुपैडिहामा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषध प्रयोगकर्ता र कारोबारी अब बिस्तारै पहाडी जिल्ला तथा दूरदराजमा फैलिदै गएको छ ।
भारतीय सीमासँग जोडिएकै कारण अन्य अपराधिक गतिविधिसँगै लागुऔषधको पनि नेपालगन्ज केन्द्रविन्दु बनिरहेको छ । साविकको मध्यपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने गाजा, चरेश र अफिम तथा भारतबाट भित्रिने ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम, नाइट्रोभेट र स्पामको कारोबार केन्द्र नेपालगन्ज नै बनिरहेको छ ।
पहाडी जिल्लामा उत्पादन हुने गाजा, चरेश र अफिम नेपालगन्ज हुँदै भारतीय पुग्ने भारतबाट ब्राउनसुगर, कोरेक्स र विभिन्न नामको ट्याब्लेट नेपालगन्ज हुँदै देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । नेपालगन्जमा लागुऔषध प्रयोगकर्ता र कारोबारी वर्षेनि बढिरहेका छन् । यद्यपि, बाँके जिल्ला र नेपालगन्ज शहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी कति छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।
लागुऔषधविरुद्ध काम गर्दै आएको साहरा हाउसका अभिराज क्षेत्री बाँकेमा ८ हजार बढी प्रयोगकर्ता भएको बताउँछन् । कुलतमा लागेका र छिटो पैसा कमाउने सोच बनाएर यस्तो धन्दामा लागेको पाइन्छ । भारतबाट ब्राउनसुगर बोकेर आउने र यताबाट गाँजा, चरेश र अफिम लैजाने गरिन्छ । बाँकेमा नेपाली सेनाका मेजरदेखि प्रतिष्ठित व्यक्तिहरु पनि लागुऔषध कारोबारमा परेका छन् ।
बाँके प्रहरीले लागुऔषध नियन्त्रण तथा कारबाहीका लागि ‘सीधा कारबाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । लागुऔषध विरुद्धमा काम गर्ने आधा दर्जन संघसंस्थाले पनि जनचेतनामूलक गतिविधिहरु गरिरहेका छन् । यसका बाबजुद नेपालगन्जमा प्रयोगकर्ता तथा कारोबारी घटेका छैनन् ।
बाँके जिल्ला कारागारमा रहेका बन्दीको संख्या पनि बाँकेमा दिन प्रतिदिन लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढिरहेको देखिन्छ । निमित्त जेलर श्याम लामिछानेका अनुसार पछिल्लो रेकर्डमा कारागारमा ६५३ जनामध्ये लागुऔषधका सबैभन्दा धेरै २३२ रहेका छन् । ‘लागुऔषधका बन्दी दैनिक एक/दुई जना आउँछन्,’ निमित्त जेलर लामिछानेले भने ।
।