सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाकी मेजर सुलोचना पौडेलको प्रधानसेनापति बन्ने सपना पूरा होला ?


काठमाडौं । २५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा एक महिला सैनिकले पहिलोपटक स्टाफ कलेज उत्तीर्ण गरेकी छन् । नेपाली सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’मा महिला पुग्न सक्ने बाटो मेजर पौडेलले खुलाएकी छन् । उनले सेनाको प्रशासनिक निकायको उपल्लो तहमा पुग्न सक्ने स्टाफ कलेजमा सफलता हात पारेकी छन् ।
नेपाली सेनामा अहिलेसम्म महिलाले नेतृत्व हात पारेका छैनन् । करिब ३ सय जना परीक्षार्थीमध्ये ४९ जना सैनिक अधिकृत उत्तीर्ण भएकोमा महिला सेनानी सुलोचना पौडेललाई यो सफलता मिलेको हो । यो सफलतासँगै सेनानी पौडेललाई नेपाली सेनाको उच्च तहको नेतृत्वमा पुग्न बाटो खुलेको हो । ४६ बेसिक अन्तरगत नेपाली सेनामा भर्ना भएकी पौडेल भक्तपुरकी स्थायी बासिन्दा हुन् ।
पौडेलसहित ६ जना महिला सेनानीले ‘कमान्ड एन्ड स्टाफ कोर्स’ मा सहभागिता जनाएकोमा उनलाई मात्र यो सफलता मिलेको हो । नेपाली सेनामा २०७४ सालदेखि ‘सैनिक कमान्ड तथा स्टाफ कलेज’ को प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराइएको हो । महिला सैनिकको भर्ती नै २०६१ सालदेखि लिन थालेको सेनामा भविष्यमा सुलोचनाले नेतृत्व लिनसक्ने सम्भावना बढेको छ ।
अहिलेसम्म सेनामा रहेका महिलाले यो परिक्षामा भाग लिएका थिएनन् । सुलोचनाले पास हुन्छु भन्ने दृढताले नै भाग लिएकी थिइन् । उनले आफु सफल हुनुलाई एउटा विशाल मौकाका रूपमा लिएकी छन् । ‘एक त सेनामा जागिरे हुनु नै सपना साकार भएको ठानेकी थिएँ, स्टाफ कलेज पास गरिसकेपछि एउटा सुनौलो बाटो खुलेको छ’, उनी भन्छिन् । नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन् उनी । अहिले उनी कमान्ड एन्ड स्टाफ कोर्स पनि गरिरहेकी छन् ।
‘बच्चैदेखि मलाई आर्मीले परेड गरेको देख्दा रमाइलो लाग्थ्यो, म पनि आर्मी बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । जब केटीहरूका लागि पनि अवसर खुल्यो अनि सपना सत्य भएको भान भयो’, उनी भन्छिन्, ‘आर्मीको अनुशासन, दृढता र काम गर्ने शैलीले सानैदेखि लोभ्याएको थियो ।’ उनको व्याचमा ७० जना महिलाले भर्ती हुने मौका पाएका थिए ।
परिवारबाट सँधै सहयोग पाएकी उनी थप्छिन्, ‘तालिम गर्दा बुवाआमादेखि अहिले सासुससुरासम्मले मलाई सहयोग गर्नुभएको छ ।’ महिलाका लागि उदाहरणीय बनेकी उनी ठान्छिन्, ‘एउटी केटी मान्छे सफल हुनका लागि केहीले रोक्दैन । म केटी हो, सक्तिन भन्ने हिन भावना राख्न हुँदैन ।’ कमान्ड एन्ड स्टाफ कोर्समा सहभागिता जनाउन तीनपटक प्रवेश परीक्षा दिन पाइने व्यवस्था छ ।

नेपाली सेनामा समावेशिता र महिला सहभागितालाई महत्व दिइएको छ, अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न महिला सैनिक अधिकृतले सक्नेछन ।

तीनैपटक प्रवेश परीक्षामा असफल भए चौथो पटकदेखि दिन पाइँदैन । नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘कमान्ड एन्ड स्टाफ कोर्स’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदेशी सेनाका अधिकृतहरूको पनि सहभागिता रहने गरेको छ । नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्नु अत्यन्तै जटिल तथा चुनौतीपूर्ण मानिन्छ ।
स्टाफ कलेज उत्तीर्ण गरेकालाई आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा विशेष भूमिका दिने गरिन्छ । सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, स्टाफ कलेज गरेपछि महिला सैनिकलाई पनि पुरुष अधिकृतसरह माथि जाने अवसर प्राप्त हुने बताए ।
‘नेपाली सेनामा समावेशिता र महिला सहभागितालाई महत्व दिइएको छ, अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न महिला सैनिक अधिकृतले सक्नेछन,’ सहायक रथी भण्डारीले भने । यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ । गुल्मको पहिलोपटक नेतृत्व गर्ने अवसर सेनानी सृष्टि खड्कालाई मिलेको हो । हाल उनको नेतृत्वमा सो गुल्ममा १४० महिला सैनिक रहेका छन् ।
नेपाली सेनामा हाल ४ हजार ८ सय महिला सैनिक कार्यरत छन् । नेपाली सेनामा महिला सैनिकको प्रवेशलाई सहज र सुरक्षित महसुस बनाउन लैंगिक आचरणसम्बन्धी निर्देशिका २०७० समेत लागू गरिसकिएको छ । यसले सेनामा महिलाको प्रवेशलाई सहज बनाएको छ । सैनिक सेवामा महिलाको प्रवेश २०१७ सालबाट नै सैनिक उपचारिकाका रूपमा भएको हो । २०२१ सालमा प्यारा फोहडर, २०२५ मा चिकित्सकका रूपमा सेनामा महिलाको प्रवेश भएको हो । प्राड (कानुन) का रूपमा २०५४ सालदेखि महिलाले सेनामा काम गर्दै आएका छन् ।
इन्जिनियर, कर्मचारी साधारण सेवातर्फ भने २०६० सालमा मात्र महिलाको प्रवेश भएको हो । साधारण अधिकृत २०६१ सालमा र वायुसेवातर्फ २०६७ सालमा महिलाको प्रवेश भएको हो । हाल सेनामा सहभागी महिलामध्ये सबैभन्दा बढी सिपाहीमा छन् । कुल महिलामध्ये ५० प्रतिशत महिला सिपाहीमा रहेको र बिल्लादारमा २८ प्रतिशत छन् । अधिकृततर्फ ७ प्रतिशत, पदिकतर्फ ६, सैन्यमा ५ र फलोअर्सतर्फ कुल महिलामध्ये ५ प्रतिशत रहेका छन् ।

स्टाफ कलेज पास गरेपछि के हुन्छ ?
सैनिक जीवनमा स्टाफ कलेज भनेको युद्धकला पनि मानिन्छ । स्टाफ कलेज पास गर्ने व्यक्ति सेनाको नीतिनिर्माणका लागि योग्य ठानिन्छन् । यसले भविष्यका अन्य तालिमका लागि पनि ठूलो ढोका खोलेको मानिन्छ । खासगरी कमाण्डर बन्नका लागि स्टाफ कलेज पास गर्नैपर्छ । यसपछि कम्पनी कमाण्ड, ब्रिगेड कमाण्ड हुँदै पुरै संगठनको कमाण्डका लागि पनि यस्तो व्यक्ति योग्य हुने विश्वभरको सैन्य संगठनको नियम नै छ ।

–बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ०९:३५