सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा भिजन ट्वान्टी-ट्वान्टी : आँखा उपचार सेवामा सबैको पहुँच

नेपालगन्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेब्रुअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो ।
सो कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमामार्फत मुलुकभर सञ्चालनमा ल्याइएको हो । सन् २०२० सम्म सञ्चालन हुने उक्त कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा लिएको छ ।
भिजन ट्वान्टी-ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चश्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नुका साथै आँखा रेखदेख सम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटिएको नेपाल नेत्र ज्योति सङ्घका जिल्ला अध्यक्ष रतनकुमार टण्डनले जानकारी दिए ।
‘प्रिभेन्सन अफ बलाइन्डनेश’ कार्यक्रमअन्तर्गत सन् १९८१ मा गरिएको पहिलो सर्वेक्षणमा नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८४ प्रतिशत नागरिकमा अन्धोपन पाइएको थियो । त्यसमध्ये एक दशमलव सात प्रतिशतमा एउटा आँखा दृष्टिबिहीन र दुई दशमलव सात प्रतिशतको आँखामा खराबी देखापरेको थियो । आँखाका समस्या भएका नागरिकमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् भने ७२ प्रतिशत मोतियाविन्दुको समस्याबाट प्रभावित छन् ।
आँखाको विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने बताइएको छ । नेपालका विभिन्न स्थानमा आँखा अस्पताल सञ्चालनमा आएपछि आँखा रोगको समस्या आधा घटेको पछिल्लो सर्वेक्षणमा उल्लेख छ । हाल नेपालका शून्य दशमलव ३९ प्रतिशत नागरिकमा आँखा समस्या देखिएको छ । अध्यक्ष टण्डनका अनुसार नेपालका अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रका जिल्लाका नागरिकमा आँखा रोगको समस्या बढी देखिन्छ । रासस

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार ०३:५२