सूचनाको शक्ति - The Power Of Information

        

किशोरमा रक्तअल्पता तथा आइरनको कमी

विष्णु नेपाल । काठमाडौं । विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ ।
नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ । नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन ।
परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न नेपालमा राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ ।
ती निकायहरुद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणमा ६ देखि ५९ महिनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेका देखाएको छ ।
हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा भनिएको छ, ‘रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा छ । यो संख्या २७ प्रतिशत छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहिलो प्राथमिता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ । विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशु मृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ ।
सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ । सर्वेक्षणले ६ देखि ५९ महिनाका १०० बालबालिकामध्ये २१ जनामा जिन्कको कमीसमेत देखाएको छ । यसको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसित लड्ने शक्तिमा ह्रास गराई रोगको दर बढाउछ ।
सर्वेक्षणमा प्रजनन उमेर समूहका एक चौथाइ महिलामा समेत जिन्कको कमी रहेको देखाएको छ । सर्वेक्षणमा ६ देखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ उमेर ४० प्रतिशत महिलामा हेलिकोब्याक्टर९एच० पाइलोरीको सङ्क्रमण, १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा एच पाइलोरीको सङ्क्रमण पाइएको छ ।
हिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो । चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाक्वाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ ।
सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई÷मधेशमा बढी रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ । बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छदेखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष का तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ ।
विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सर्वेक्षण सार्वजनिक गर्दै आगामी नीति निर्माण तय गर्न सर्वेक्षणबाट निस्केका नतिजाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार ०२:४३