सूचनाको शक्ति - The Power Of Information

        

म्यानमाका राष्ट्रपति मिन्त लुम्विनीमा


रेनुका गिरी । बुटवल । चौथो बिमिस्टेक सममेलनको अवसरमा नेपाल आएका म्यानमाका राष्ट्रपति विन मिन्तले आज शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा राष्ट्रपति मिन्तले लुम्बिनी स्थित मायादेवी मन्दिरमा पुजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपदचाप चिन्ह मार्कर स्टोन, बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ लगायतका महत्वपूर्ण बस्तुहरुको अवलोकन पनि गरे ।
राष्ट्रपति मिन्तलाई पर्यटनमन्त्री एवं लुम्बिनी बिकास कोषका अध्यक्ष रबिन्द्र अधिकारी लगायत कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए । लगत्तै राष्ट्रपति मिन्तले लुम्बिनीको बिहार क्षेत्रस्थित म्यानमा टेम्पल पुगेर अवकोलन गरेका थिए । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको म्यानमाबाट हरेक बर्ष हजारौं बुद्धमार्गीहरु लुम्बिनी भ्रमण गर्न आउने गर्दछन् । गतबर्ष म्यानमाबाट २१ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राष्ट्रपति मिन्टको स्वागतमा आयोजित विशेष कार्यक्रममा संस्कृतिमन्त्री अधिकारीले विश्वका बुद्धधर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य रहेको बताउँदै राष्ट्रपति मिन्टको भ्रमणले लुम्बिनीको विकासमा महत्वपूर्ण प्रेरणा मिल्ने र योजनाबद्धरुपमा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १३:०७