लक्ष्मी भण्डारी । वीरेन्द्रनगर । केही वर्षअघिसम्म दुई–चार जनाको जमातमा उभिएर बोल्न उहाँलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उनलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उनले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहेकी छन् ।
नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै छन् उनी । गुर्भाकोट नगरपालिकाको कार्यपालिका सदस्य भएपछि ३५ वर्षीया सरस्वती नेपाली अहिले ढुक्कसँग बोल्न मात्र होइन सजिलैसँग सभामा पनि आफ्ना विचार राख्न सक्छिन् । अहिले उनको हस्ताक्षर बिना योजना नै बन्दैन । त्यसैले गाउँका पुरुषहरुले पनि उनको सरसल्लाह लिन थालेका छन् ।
‘नीति निर्माण र योजना बनाउने ठाउँमा पुगेपछि सबैले हेर्ने दृष्टिकोणमा फरक देखेकी छु,’ उनले भनिन्, ‘दलित भनी घृणा गर्नेहरु अहिले नमस्कार भन्न थालेका छन् ।’ श्रीमती तथा बुहारीको नातामा सीमित परिचय वडाको सदस्यसम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिकाका नम्रता लोहारलाई । दिउँसो बैठक हुने दिनमा बिहानै उठेर त कहिले राति अबेरसम्म तयारी सकेर भएपनि उनी समय निकाल्छिन् ।
घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिँदै गएपछि अहिले सफलता मिलेको उनी बताउँछिन् । उनको काम देखेर पूरै परिवार खुशी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्छिन् । ‘पहिले हाम्रा अगाडि नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ,’ उनी भनिन्, ‘हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।’
त्यतिमात्र होइन अहिले अन्य जातिका व्यक्तिहरु आफूसँग सँगै बसेर खाना खान थालेकामा उनी खुशी छन् । काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थालेकी छन् । उनी वडाका लागि आवश्यक पर्ने योजनाहरुबारे निर्णय लिने छलफलहरुमा पनि सहभागी हुन्छिन् । बुहारीको परिचयमा सीमित उनी विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुशीको अनुभव गर्छिन् ।
त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उनको मन गद्गद् हुन्छ । वर्षांैसम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिँदैन कि भन्ने त्रास थियो तर पनि हिम्मत नहारेर पद सम्हाल्दै आएको उनी बताउँछिन् । घरायसी सानोतिनो काममा निर्णय नगरेकी उनलाई एक्कासी पद सम्हाल्न चुनौती थियो । महिला दिदीबहिनीले साथ दिएपछि सफल भएको उनको भनाइ छ । अझै अगाडि बढेर पछि परेका दलित महिलाको हकअधिकार र उनीहरुलाई अगाडि बढाउन लागिपर्ने उनको चाहना छ ।
नेतृत्वमा आएपछि आफूहरुमाथि पहिलेको जस्तो छुवाछूत र विभेद कम भएको उनी ठान्छिन् । ‘हामी कमजोर र नेतृत्व तहमा नभएका कारण नै हामीमाथि छुवाछूत र विभेद गरिएको रहेछ,’ उनले भन्छिन् । निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य बुद्धिसरा विकको अनुभव छ । ‘नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्,’ उनले भनिन्, ‘त्यसैले गर्दा पनि मप्रतिको उनीहरुको व्यवहारमा फरक छ । अहिले सबैको अगाडि बोल्दा सबैले कदर गर्ने गरेका छन् ।’
दलित महिला नेतृत्वमा आएपछि उनीहरुमाथि हुने छुवाछूत जस्ता विभेद हटेको अनुभव गरेका यी प्रतिनिधि महिला हुन् । नेतृत्वमा पुगेपछि आफूहरुमाथि समाजले आदर गर्नुका साथै छुवाछूत जस्ता विभेदहरु हटेको अनुभव जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडामा नेतृत्व गरेका महिला वडा सदस्यहरुको अनुभव छ । पहिले महिला त्यसमाथि पनि दलित भनेपछि कुनै पनि निकायमा उनीहरुको वास्तै हुँदैन्थ्यो । तर, अहिले दलित सदस्यको घरघरमा पुगेर भए पनि योजनाको बारेमा पुरुष सहकर्मीहरु सरसल्लाह लिन पुग्छन् ।
यसरी घरमा आएकाहरुसँगै बसेर खाना खान थालेको वडा सदस्य राधिका बताउँछिन् । उनले भनिन्, ‘पहिले खाना खानुभन्दा बहाना बनाएर जान्थे तर, अहिले सँगै बसेर खान थालेका छन् ।’ दलित महिलामाथि हुने विभेदमा विस्तारै कमी आएको लेकवेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनार बताउँछन् । नेतृत्वमा आएपछि दलित महिलाहरु सशक्त हुनाको साथै उनीहरुको कदर पनि हुन थालेको सुनारले बताए । अहिले जिल्लाका ९९ वडामा १९९ दलित महिला जनप्रतिनिधि छन् ।
जनप्रतिनिधि मात्र होइन समुदायको अन्य स्थानीय संरचना तथा निकायहरुको नेतृत्व गर्दै आएका दलित महिलाहरुमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ । त्यसकै प्रतिनिधि पात्र हुन् गुर्भाकोट नपा वडा नं ३ की मुसी बाँठा । उनी गाउँकी स्वयंसेविका हुन् । गाउँमा स्वास्थ्य समस्या भएमा, गर्भवती भएमा तथा परिवार नियोजनको सल्लाह लिनुपरेमा गाउँभरिका मानिस उनको घर जान्छन् । नेतृत्वको अवसरले गर्दा उनीहरुको आत्मबल बढेको प्रावि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक चन्द्रावती खत्रीले बताइन् ।
घरपरिवारको काममा मात्र सीमित महिलालाई घरबाहिरको काममा पनि सहभागी गराए उनीहरुमा आत्मविश्वास बढ्नाको साथै समस्या समाधान गर्ने क्षमता पनि बढ्छ । अझै पनि दलितहरुमाथि हुने विभेदका घटनाहरु उस्तै भएपनि नेतृत्व तहमा पुगेका महिलाहरुमाथि छुवाछूतको व्यवहार नभएको गुर्भाकोट नपाका उपप्रमुख मैना बिक बताउँछिन् । कानूनको डरले गर्दा पनि पछिल्लो समय दलितमाथि हुने विभेदका घटनामा केही कमी आएको उपप्रमुख मैनाले बताइन् । दलित महिला नेतृत्वमा पुगेपछि पछिल्लो समय दलित महिलाको हकहितका लागि योजनाको साथै कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् । रासस
।