सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सवारी कारबाही बढ्यो, ४३ दिनमै १२ लाखबढी राजस्व संकलन


बाँके । सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बाँकेमा छड्के चेकजाँचसँगै सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ । नियमित छड्के चेकजाँच र सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराइरहेको छ । छड्के चेकजाँच थालेपछि सवारी कारबाहीमा पर्नेको संख्या पनि ह्वात्तै बढेको छ ।
सवारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन छड्के चेकजाँच थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । शहर र ग्रामीण क्षेत्र दुवैमा छड्के चेकजाँँच थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रायजसो सवारी चालक अनुमति पत्र (लाइसेन्स) विना र मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु ट्राफिक प्रहरीलाई छक्याउँदै चेकजाज गर्ने भन्दा फरक रुटबाट आवातजावात गर्ने पाइएकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि छडके चेकजाँच थालिएको जनाइएको छ ।
क्षमताभन्दा धेरै यात्रु बोक्ने तथा मनपर्दी भाडा असुली गर्ने बसलाई पनि कारवाही गर्ने प्रहरी निरीक्षक रोकाको भनाई छ । उनले भने, ‘क्षमताभन्दा बढि यात्रु रहेको सवारी देखेमा प्रहरीलाई खबर गर्नुहोस् । स्वयं यात्रुहरु पनि सजक हुनुपर्छ ।’ बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएमा चालकलाई नै समस्या पर्ने ट्राफिक प्रहरीको भनाई छ ।
‘बिना लाइसेन्स सवारी चलाउनु चालककै लागि घातक हो,’ उनले भने, ‘यदी लाइसेन्स नभएकाहरु दुर्घटनामा पर्नुभयो भने कानुनले उहाँहरुलाई नै दोषी मान्छ । बिमा कम्पनीले पनि क्षतिपूर्ति दिन मान्दैनन् । त्यसो भएपछि कानुन अनुसार जेल सजायदेखि जरिवाना तथा क्षतिपूर्ति समेत भराउनुपर्ने हुन्छ ।’
यस्तै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नेपालगन्ज कोहलपुर सडक खण्डका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड लगाएको छ । ‘कोहलपुर सडक खण्डको पिपरीमा बाइक स्केल्लेटन राखिएको छ,’ ट्राफिक चेकपोष्ट राँझाका इन्चार्ज दिनशेकुमार पण्डितले भने, ‘नेपालगन्ज कोहलपुर सडक खण्डमा दैनिकजसो दुर्घटना बढ्दै गएका कारण बढी दुर्घटना हुने स्थानमा दुर्घटना भएको बाइक राखेर सचेतीकरण गरिएको हो ।’
उनले अत्याधिक सडक दुर्घटना हुने अन्य ठाउँहरुमा यस्ता जनचेतनामूलक बोर्डहरु राख्ने योजना रहेको बताए । पछिल्लो समय सडक दुर्घटना बढे पनि ट्राफिकको सक्रियता भइरहेको सचेतना कार्यक्रमसँगै दुर्घटनामा कमी आउने इन्चार्ज पण्डितको विश्वास छ । सवारी साधनमा बस, जीप, ट्रक लगायत सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने हुँदा यस स्थानमा अबका दिनमा अप्रिय घटना नहोस् भन्दै यस्तो संकेत राखिएको पण्डितले जानकारी दिए ।

४३ दिनमा १२ लाखबढी राजस्व
जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्म ४३ दिनमा मात्रै रु.१२ लाख १५ हजार ५ सय राजस्व संकलन गरेको छ । साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सा लगायत) सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । तथ्यांक अनुसार साउन १ गतेदेखि हालसम्म ९ वटा गम्भीर खालका सडक दुर्घटना भएका छन् ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ । सामान्य खालका दुर्घटना अत्याधिक रहे पनि रेकर्ड भने राखिँदैन । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० बर्ष उमेर समूहका विना लाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०८:०२