सूचनाको शक्ति - The Power Of Information

        

नगरवासीको तीव्र विरोधपछि पार्किङ शुल्क नलिने नेपालगन्ज उपमहानगरको निर्णय


बाँके । उपमहानगरका ५० ठाउँमा पार्किङ्ग स्थल तोकेर शुल्क लिने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाले अब शुल्क नलिने भएको छ । नगरबासीहरुले शुल्क लिने निर्णयको चर्को विरोध गरेसँगै उपमहानगर आफ्नो निर्णयबाट पछि हटेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत् सर्वसाधारणसँग शुल्क लिने तयारीपछि नगरबासीहरुले तीव्र विरोध जनाएका थिए । उपमहानगरको निर्णयपछि नगरबासीबाट त्यसको सकरात्मक प्रतिक्रिया नआएपछि शुल्क नउठाउने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आज सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सबैखाले यातायातका साधन मार्किङ सहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि व्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ । यस्तै बैठकले नागरिकता सिफारिस, स्वास्थ्य उपचार सिफारिस निशुल्क गर्ने निर्णय गरेको छ ।
यसअघि नागरिकता सिफारिसका लागि एक सय रुपैयाँ लिने गरिएको थियो । यस्तै बैदेशिकबाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गरिएको छ । बैठकले उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्था अनुसार ट वटा विषयगत समिति गठन गरिएको छ ।
समितिमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, वातावरण तथा विपद् समिति र विधयेक समिति गठन गरिएको उपमहानगरले जनाएको छ । समितिमा जिम्मेवारी बाँडफाँड र संख्या भने अझैं पूर्ण गरिएको छैन ।
यस्तै वैठकले वडा नं.१ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरेको छ । उपमहानगरपालिकाका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्नका लागि रिजाललाई प्रवक्ता चयन गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
यस्तै बेठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्तरण गर्न वडा नं.१० का अध्यक्ष विन्दुभुषण वस्नेतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
समतिको सदस्य सचिवमा वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, वडा नं. १९ का अध्यक्ष दिपक वर्मा, वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्की र सदस्य कौशल धोवी समितिको सदस्य रहेका छन् । यस्तै धम्वोझीमा आकाशे पुल (फलाई ओभर)को डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १०:२५