सूचनाको शक्ति - The Power Of Information

        

‘भड्किलो हैन, सजिलो बनाऔँ’


नारायणी रजौरे । दाङ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् । यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ ।
परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकोमा बौद्धिक क्षेत्र तथा अन्य क्षेत्रमा क्रियाशील महिलाले चिन्ता व्यक्त गरेका छन् । शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ ।
पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका शिक्षिका कालिका रेग्मी बताउँछिन् । पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोका लागि मनाउँछन् । तीज आउन केही दिनमात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो ।
उनी भन्छिन्, ‘अहिले त तीज आउन एक महिना अघिनै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा देख्दा चिन्ता लाग्ने गर्छ ।’ शिक्षिका रेग्मी पनि तीजको व्रत बस्छिन् । उनी दिनभरी व्रत बसेर पूजाराधना गरेर बेलुका फलफूल, दूध पिउँछिन् तर कति महिला त श्रीमानको आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने देख्दा नरमाइलो लाग्छ ।

पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोका लागि मनाउँछन् ।

श्रीमानको खुट्टाको बूढी आँैलाको पानी खाने कामचाहिँ आफूले नगर्ने उनको भनाइ छ । तीज पर्वलाई आजभोलि फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर निवासी सुटिङ प्रशिक्षक माया रोका बताउँछिन् । उनी भन्छिन्, ‘यो पर्व आउन धेरै दिन अगाडिदेखि विशेष गरेर बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुने खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्न थालेको छ ।’
उनी परापूर्वकालदेखि चलिआएको सो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एकदिन व्रत बसी पूजापाठ गर्छिन् । उनी बेलुकीपख दूध तथा फलफूल खान्छिन् । रेग्मी र रोकामात्र होइन तुलसीपुर उपमहानगरपालिका–६ की गृहिणी सुशीला भट्टराईले पनि तीज पर्वलाई सामान्य रुपमा मनाउने सोच बनाएकी छन् । उनी भन्छिन्, ‘आजभोलि रेडियो, टेलिभिजनमा बज्ने गीत तथा नृत्य र तीज आउन एक महिना बाँकी रहँदा गरिने कार्यक्रम सुन्दा हेर्दा मलाई नमज्जा लाग्छ,’ उनी भन्छिन्, ‘तीज आउन चार पाँच दिनअघि त्यस्ता कार्यक्रम आयोजना गरे पनि हुुने थियो नि ?’
यसले त निम्न वर्गका महिलाको त यो चाड होइन कि जस्तो आभाष हुन थालेको भट्टराईले बताइन् । तीजमा शैक्षिक, सरसफाइ, जागरणका भाका समेटिएर गीत गाउने गरिन्थ्यो तर अहिले त विकृति अँगाल्नेखाले मात्र गीत नृत्य प्रदर्शनले कतै हाम्रो संस्कृति नै हराउने त होइन भन्ने चिन्ता लाग्ने गरेको भट्टराई बताउँछिन् । यस्तै चिन्ता विजौरी क्याम्पस दाङकी प्रा निर्मला डाँगीलाई पनि छ । उनी भन्छिन्, ‘यो पर्वलाई देखासिकीको पर्व, कपडा तथा गहना प्रदर्शन गर्ने र भड्किलो पर्वको रुपमा मनाउने प्रचलन बन्द गर्नु नै पर्छ । यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ ।’ रासस

प्रकाशित मिति : १० भाद्र २०७५, आइतवार ०८:४५