सूचनाको शक्ति - The Power Of Information

        

कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका


कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ ट्विस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारेमा केही अनौठा तथ्यहरु फेला परेका छन् ।
यो घटनामा लामो समयसम्म प्रहरीले किन सफलता हात पारेन ? अनि स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको वीचमा कुनै स्वयं प्रहरीबाटै गडबडी भइरहेको दाबी कञ्चनपुरवासीहरुको छ । आउनुहोस् निर्मला पन्तको हत्या र बलात्कार प्रकरणबारे केही तथ्यहरु केलाऔं । सुरुमा चर्चा गरौं, निर्मला पन्तको परिचयबाट ।

निर्मला पन्त गृहकार्य गर्न गएको साथीको घर ।


गरीबकी छोरी घर फर्किइनन्, प्रहरीले हत्यारा खोजेन
गत साउन १० गते बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका–२ स्थित खोल्टी भन्ने ठाउँकी बासिन्दा थिइन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । उनी सामान्य एवं गरिब परिवारकी सदस्य थिइन् । उनका आमाबुबा ज्याला मजदुरी गर्ने वर्गका मानिस हुन् ।
साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको घरमा होमवर्क गर्न र नोटबुक लिनका लागि साइकल चढेर निस्किइन् । समय दिउँसो ११ बजेतिरको थियो । उनी आफ्नी आमालाई जानकारी गराएर साथी आँचल भनिने रोशनी बमको घरमा गएकी थिइन् । तर, त्यहाँबाट उनी फर्किइनन् । बरु भोलिपल्ट बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटियो । अलि पर साइकल र किताबकापीहरु फेला परे ।

निर्मला पन्तको घर


जघन्य अपराधको घटना भएको तीन हप्तासम्म कञ्चनपुर जिल्ला प्रहरीले अपराधी पत्ता लगाउन तदरुकता देखाएन । स्थानीयवासीले प्रहरी प्रशासनलाई दबाव दिइरहे, आन्दोलन भयो, तैपनि प्रहरीले दोषीलाई पत्ता लगाएन । स्थानीयवासीको दाबी के छ भने शंकाको सुई भीआईपीहरुतिरै सोझिएका कारण प्रहरीले घटनाको जरोसम्म पुग्नै चाहेन । घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दीपकराज विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्यो ।
प्रहरीको यो कार्यलाई स्थानीयवासीले पत्याएनन् । निर्मलाकै परिवारले पनि पत्याएनन् । र, स्वतःस्फूर्त आन्दोलन चर्कियो । मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई हत्याराका रुपमा प्रस्तुत गरेर एसपी डिल्लीराज बिष्टले वास्तविक अपराधीलाई जोगाउन खोजेको स्थानीयवासीले आरोप लगाए । वास्तविक अपराधी पत्ता लगाउन माग गर्दै विहीबारदेखि आन्दोलन चर्कियो ।
आन्दोलनले उग्र रुप लिएपछि सरकारले विहीबार कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी र सिडियो कुमारबहादुर खड्कालाई हटायो र उनीहरुका ठाउँमा एसपी कुबेर कठायत र तारानाथ अधिकारीलाई गृहमन्त्रालयले जिल्लामा पठायो । साथै गृहमन्त्रालयले एउटा छानविन समितिसमेत गठन गरेको घोषणा गर्यो । विहीबारको सरकारको निर्णयपछि आन्दोलन लगभग मथ्थर जस्तै भइसकेको थियो ।
शुक्रबार बिहान स्थानीय व्यवसायीहरुले अब आन्दोलन नगर्ने र घटनाको छानविन गर्न दिने सहमति पनि गरेका थिए । तर, शुक्रबार साँझ फेरि आन्दोलन चर्कियो र प्रहरीको गोलीले एकजनाको मृत्यु हुनुका साथै केही व्यक्तिहरु घाइते बने । शुक्रबार साँझाको गोलीकाण्डपछि कञ्चनपुर फेरि तनावग्रस्त बनेको छ । र, जिल्लाको यो घटनाले सिंहदरबारमा समेत हलचल मच्चन थालेको छ । शुक्रबार साँझ नै नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई फोन गरेर यो घटनालाई गम्भीर रुपमा लिन भनेका छन् ।

भीम रावलले ‘राजनीति’ घुसाए
शुक्रबार बिहान महेन्द्रनगर लगभग शान्तजस्तै भइसकेको थियो । तर, नेकपाका नेता भीम रावलको एउटा राजनीतिक अन्तरवार्ता बाहिर आएपछि आन्दोलन भड्कियो । रावलले शुक्रबार बिहान ऋषि धमलासँगको अन्तरवार्तामा भने, ‘नेपाली कांग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, त्यहाँका जनप्रतिनिधिलाई आक्रमण गरिरहेका छन्, त्यो निन्दनीय छ ।’
यद्यपि रावलले त्यो घटना निन्दनीय भएकाले दोषीमाथि हदैसम्मको कारवाही हुनुपर्ने र यसका लागि सरकारले छानविन समिति पनि बनाएको बताएका थिए । नेकपाले अपराधीलाई कारवाही गर्ने कुरामा रावलले प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर, स्थानीयवासी रावलको विरोधमा सडकमा उत्रिए । एक त स्थानीयवासीहरु यो बलात्कार र हत्याको घटनामा प्रहरी र नेकपाका नेताका परिवारजनमाथि नै छानविन हुनुपर्ने माग गरिरहेका थिए, त्यहीबेला रावलले कांग्रेसमाथि दोषारोपण गरेपछि यसले राजनीतिक आकार लियो ।
भलै, निर्मलाका हत्यारामाथि कारवाहीको माग कुनै एउटा पार्टीले गरेको नभएर सिंगै जिल्लाबासीहरुको स्वतस्फूर्त माग थियो । नेकपा नेता भीम रावलको कांग्रेसविरोधी अभिव्यक्तिलाई लिएर शुक्रबार साँझ ५ बजेतिर नेविसंघका कार्यकर्तासमेतले जुलुस प्रदर्शन गर्दा झडप भयो । जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना र विरोध प्रदर्शन भयो । उनीहरु त्यहाँ टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले प्रदर्शन हटाउनका लागि बल प्रयोग र्गयो । प्रहरीको बल प्रयोगपछि झडपको स्थिति भयो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्यो । हवाई फायर गर्यो ।
त्यति गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलायो । त्यसक्रममा एक बालकको मृत्यु भयो । अरु ४ जना गोली लागेर घाइते भए । यसअघि पनि प्रहरीको लाठीचार्ज र गोलीबाट घाइते भएका मध्ये एक जनाको अहिले काठमाडौंमा उपचार भइरहेको छ भने एक जनाको जिल्लामै उपचार भइरहेको छ । शुक्रबारको घटनामा समेत गरी ६ जना अस्पतालमा छन् । अरु सामान्य घाइते बन्नेहरु धेरै छन् । प्रहरीले पनि आफ्नो तर्फ केही प्रहरीहरु घाइते भएको बताउँदै आएको छ । शुक्रबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने र गोली नै चलाउनुपर्ने स्थिति नरहेको स्थानीय बताउँछन् ।
तर, प्रहरी प्रशासन निकै नै आत्तिएको र डराएको हुनाले यसले गोली चलाएको देखिन्छ । केही दिनयता चर्केको स्वतस्फूर्त आन्दोलनका कारण प्रहरीहरु निकै आत्तिएका देखिन्छन् । जिल्ला प्रशासनको गेटै अगाडि प्रदर्शन भएकाले पनि प्रहरीहरु बढी आत्तिएको देखिन्थे । शुक्रबारको घटनापछि अब कञ्चनपुर झनै तनावग्रस्त हुने स्थिति देखिएको छ । कञ्चनपुरमात्रै होइन, शुक्रबार कैलालीमा समेत केही युवाले नाराजुलुस गरे । गोलीकाण्डपछि शनिबारदेखि झनै आन्दोलन चर्किने खतरा बढेको छ । निर्मल प्रकरणसित जोडेर शुक्रबार स्थानीयले भीमदत्त नगरपालिकाका मेयरको घरमा पनि तोडफोडको प्रयास गरेका छन् ।

त्यो रहस्यमय घर
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् ।
उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवतजावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउनेजाने गर्थे ।
स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४र२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ । त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् ।
जस्तो, घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् । निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् ।

शंकास्पद वयान र वस्तुस्थिति
साउन १० गते बेलुका ५ बजेसम्म पनि निर्मला घरमा नआउँदाखेरि उनकी आमा निर्मलालाई खोज्दै बम परिवारको घरमा पुगिन् । निर्मलाकी आमालाई बबिताले छोरी अघि नै घर गईसकी, हामीले अम्बा दिएर पठाएका हौं भनेकी थिइन् । तर, अहिलेसम्म आइन त भन्दाखेरि ‘पोइल गई होली’ भन्ने जवाफ फर्काएको निर्मलाकी आमाको भनाइ छ ।
छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई ‘अब भोलि खोजौंला’ भन्ने जवाफ दियो । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आर्तनादलाई खासै ध्यान दिएन ।
निर्मलाकी आमा भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीका घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दाखेरि त्यहीबेलामा कसैले उखुबारीमा साइकल फेला परेको जानकारी दियो । प्रहरीको भनाइ अनुसार घाँस काट्न जानेले निर्मलाको साइकल र शव फेला पारेका हुन् । त्यतिबेला बबिता बमले ‘उसोभए लास पनि त्यहीँ होला’ भनेको निर्मलाका परिवारको दाबी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरेको पीडित परिवारको भनाइ छ ।
प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षामा दियो । उनीहरुका बुबाआमा आएसकेपछि अहिले बुबाआमाको जिम्मा लगाइएको छ । र, उनीहरु अहिले त्यही दुईतल्ले घरमा बसिरहेका छन् । केटीका बुबाआमासँग एसपी डिल्लीराज बिष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ ।
बबिताकी आमासँग यसबारे कुरा गर्दा उनी ‘एसपी डिल्लीराज हाम्रा लागि भगवानसरह हुन्’ भन्छिन् । तर, स्थानीयवासीहरु रुष्ट हुनुको कारण के छ भने यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका हुन सक्छ कि भन्ने आशंकाले काम गरेको देखिन्छ । तर, यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्रा लगाउने जिम्मेवारी उनैका काँधमा थियो, जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरवासी समक्ष प्रस्तुत गरे । न्याय माग्ने स्थानीयवासीमाथि गोली र लाठी बर्साए ।

मानसिक रोगीको आफ्नै कथा
प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिसंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको ‘पागल’ मान्छे भनिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले के भनेको थियो भने विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्थ्यो, घरकै सदस्यलाई बलात्कार गर्न खोज्थ्यो । तर, यस्तो अभिव्यक्तिले प्रहरी झनै नैतिक संकटमा र्पयो । स्थानीयले प्रहरीको यो कार्यलाई ‘नाटकको संज्ञा’ दिए ।
पक्राउ परेका विष्टको घर रहेको उल्टाखाम भन्ने गाउँमै पुगेर हामीले स्थानीयसँग बुझ्दाखेरि ती मानसिक सन्तुलन गुमाएका विष्ट त महिलामाथि आक्रमण गर्ने होइन कि महिलाहरु देख्दा बाटो छाडिदिने स्वाभावका रहेछन् । उनी महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने गर्दारहेछन् । पक्राउ परेका विष्टले पहिले पनि भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाइ छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको स्थानीयले सुनाए ।

निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बिष्ट


त्यसरी करिब ९ वर्ष जेल परेपछि उनको मानसिक सन्तुलन गसमेको स्थानीयले अनलाइनखबरकर्मीलाई सुनाए । तर, दिलिपसिंहका बुबाको भनाइ चाहिँ अलि बेग्लै छ । उनले हामीसँग गरेको दाबी के छ भने ८ कक्षामा पढ्दाखेरि उनलाई शिक्षकले निर्घात पिटेका थिए । त्यसपछि उपचारका लागि भारतको बरेलीमा लगिएको थियो । धेरै खर्च गरेर उपचार गर्दा पनि आफ्नो छोरो सञ्चो नभएको पिताको भनाइ छ । तर, प्रहरीले भने उनी ८ कक्षा पढ्दा प्रेम वियोगमा परेको र केटीहरुलाई समाउँदै हिँड्ने गर्दा पिटाइ खाएको दाबी गरेको छ ।

भिडियो खिचेको छ भन्दै जाहेरी दिन परिवारलाई दबाव
यसैवीच मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलाई पक्रिइसकेपछि मृतक निर्मला पन्तका बुबालाई प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन दबाव दियो । तर, निर्मलाका बुबाले त्यो केटाले प्रहरीलाई कस्तो वयान दिएको छ, मलाई सुनाउनोस् अनिमात्रै जाहेरी दिउँला भन्ने अडान राखे । प्रहरीले ‘हामीले उसको भिडियो रेकर्ड नै गरेका छौं, तपाईलाई देखाउँछौं’ भने, तर देखाएनन् । त्यसपछि निर्मलाका बुबाआमाले अहिलेसम्म ती मानसिक रोगीविरुद्ध जाहेरी दिएका छैनन् । उनीहरुले त्यो व्यक्ति आफ्नी छोरीको हत्यारा होला भनेर पत्याएका छैनन् ।
प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो । एसपी विष्टसँग नजिकको सम्बन्ध रहेको भनिएको बमको परिवार सामान्यतः हुनेखाने नै मानिन्छन् । उनीहरु दुईतले घर र व्यवसाय भएका व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो घरसमेत भाडामा नलगाई राखेका थिए । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार भने गरीब परिवार हो ।
यसरी एसपीसँग राम्रो सम्बन्ध रहेको परिवारको संरक्षणमा लागेर प्रहरी प्रशासनले एकजना गरीबकी छोरीलाई न्याय निसाफ दिलाउन अटेर गर्नु नै कञ्चनपुर घटनाको अन्तर्य रहेको स्थलगगत अध्ययनबाट पाइयो । बलात्कार र हत्याका घटनामा कसको संलग्नता छ, अहिले नै किटेर कसैमाथि आरोप लगाइहाल्न मिल्दैन, तर वस्तुस्थितिले जोजोमाथि अनुसन्धानको माग गर्छ, तिनीहरुमाथि रौंचिरा अनुसन्धान नगर्दासम्म अपराधी पत्ता लाग्न मुस्किल छ । अपराधी भीआइपी होस् या अरु नै कोही होस्, वास्तविक दोषीलाई पत्तो लगाउनैपर्छ र निर्मलालाई न्याय दिलाउनैपर्छ ।
तर, नेकपाका नेताहरुले आफ्नो पार्टीको मेयर वा प्रहरी अधिकारी वा अरु केही आधारमा घटनालाई ढाकछोप गर्नतिर लागे भने स्वाभिमानी कञ्चनपुरबासीहरुले एसपी र सिडियोको मात्रै होइन, दुईतिहाईवाला सरकारका गृहमन्त्रीकै राजनीनामा पनि नगराउलान् भन्न सकिँदैन, घटनाको गम्भीरता हेर्दा । त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस् । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् ।

 

 

–अनलाइनखबरबाट

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ०१:४८