सूचनाको शक्ति - The Power Of Information

        

कर वृद्धिबारे बुझाउन आवश्यक  

नेपालगन्ज । बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ । नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउँछिन् ।
‘कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत कुराको अध्ययन गर्नुपर्छ,’ उनले भनिन् । स्थानीय तहले आफूले गर्न लागेको कामको जानकारी पहिले नै नागरिकलाई गराउनुपर्ने उनको भनाइ छ । स्थानीय निकायले व्यवसाय, घर बहाल, मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन लगायतमा कर वृद्धि गरेको छ ।
‘नागरिकले कर अनिवार्य तिर्नुपर्छ, कर बढाउनेबारे नागरिकलाई बुझाउनु पर्छ,’ नेपालगन्जका व्यापारी रामलखन गुप्ताले भने । विकास निर्माणका काममा करबाट सहयोग पुग्ने उनी बताउँछन् । स्थानीय तहले करबारे आश्वस्त गर्न नसक्दा त्यसप्रति नकारात्मक धारणा बढेको हो । स्थानीय तहले बढाउँदै नबढाएको करबारे हल्ला गर्नेको सङ्ख्या पनि उत्तिक्कै छ ।
नेपालगन्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भूपति खत्री मदिरा तथा सुर्तीजन्य वस्तुमा कर बढाएको बताउँछन् । प्रदूषण गर्ने इँटाभट्टा तथा तारे होटललाई समेत कर बढाएको उनले बताए । विगतमा वार्षिक रु १५ हजार कर लिँदै आएको इँट्टाभट्टामा रु २० हजार, चुरोटको डिलरलाई रु १० हजारबाट रु १२ हजार, पान पसललाई रु एक हजारबाट रु दुई हजार ५०० तथा मदिरा बेच्ने पसललाई रु एक हजार ५०० बाट रु दुई हजार ५०० कर बढाइएको छ ।
यसैगरी, तारे होटलमा विगतको भन्दा १० प्रतिशत कर वृद्धि गरिएको छ । विदेश पढ्न जाने विद्यार्थीसँग लिने कर रु १५ हजारबाट रु पाँच हजार घटाइएको छ । जिल्लाका आठ स्थानीय तहले बिलासिताका वस्तुमा कर बढाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा भन्छन्, ‘बढाउँदै नबढाएको करबारे विस्तारै नागरिकले थाहा पाउनेछन् ।’

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १२:११