सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरमा गोली चल्यो, तीन जना आन्दोलनकारी घाइते


महेन्द्रनगर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ । प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि शुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।
आन्दोलन शुरु भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो । आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गाली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ । प्रहरीले भने गोली नचालाएको दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्याँस प्रहार गरिएको बताए । ‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डिएसपी सेठीले भने ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार ०७:३६