सूचनाको शक्ति - The Power Of Information

        

सरकार सपना बाँड्नमै केन्द्रीत : महामन्त्री कोइराला


बाँके । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्यप्रगति सपना बाँड्ने मात्रै भएको बताएका छन् । ‘पानी जहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ,’ महामन्त्री कोइरालाले भने ।
नेपाल महिला संघ केन्द्रिय कार्यसमितिले नेपालगन्जमा आयोजना गरेको महिलाहरुका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान सरकार विकासमा भन्दा सपना बाँड्ने काममा केन्द्रीत भएको छ, भने ।
‘अचाक्ली मुल्य वृद्वि भइरहेको छ । जनताको ढाड सेक्ने काम कर वृद्वि गरिरहेको छ,’ उनले भने, ‘कर नबढाउन नेपाली काँग्रेसले जितेका स्थानीय तहहरुमा हामीले निर्देशन गरिसकेका छौं । काँग्रेसले जितेका स्थानीय तहहरुमा कर वृद्धि नगर्ने पार्टीको आधिकारिक धारणा रहेको उनले स्पष्ट पारे ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीभित्रको समस्याका बारेमा बोल्दै नीति र विधिअनुरुप पार्टी चल्न नसक्दा समस्या भएको बताए । उनले भने, ‘हामी विधि र विधान अनुसार चल्न सकेनौं, जसका कारण हामीभित्र समस्या देखिएको छ । अब त्यो समाधानको बाटोउन्मुख भइसकेको छ ।’
प्रतिनिधिसभाका सांसद एवं पूर्व सिंचाई मन्त्री सञ्जय गौतमले पार्टी र संगठन सिष्टमले चल्न नसक्दा पार्टीका तल्लो तहसम्मका संरचनाहरु कमजोर भएको भन्दै अब नीति र विधिलाई चुस्त बनाएर अघि बढ्ने बताए । ‘हाम्रा संयन्त्रहरु कमजोर भएका छन्, पार्टीको महासमिति बैठक बोलाएर तत्काल समस्याको समाधानमा काँग्रेस जानेछ,’ उनले भने ।
गुटबन्दीले पार्टीलाई कमजोर बनाएको बताउँदै सांसद गौतमले अब गुटरहित पार्टी निर्माणमा काँग्रेस जुटिसकेका भन्दै उनले भने, ‘पहिले हामीले नेतालाई भगवान मान्यौ, अब त्यसो हुँदैन, पार्टी नीतिभित्र रहेर चल्छ । कार्यकर्ताहरुले कमजोर मनस्थिति र सोंच नराख्नुस् ।’ कार्यक्रममा प्रदेश ५ का विभिन्न जिल्लाबाट १५० बढीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १२:२९