
बाँके । शहरी विकास मन्त्री मो.इस्तियाक राईले बाँके जिल्लालाई मुलुकै नमूना जिल्लाका रुपमा विकास गरिने बताएका छन् । बकर इद मनाउन गृह जिल्ला बाँके आएका मन्त्री राइले बाँके जिल्लाको विकासका लागि प्रतिवद्ध रहेकाले आफूले कुनै कसर बाँके नराख्ने बताए ।
‘मुलुककै पुरानो तथा ऐतिहासिक शहरका रुपमा रहेको नेपालगन्जको समृद्धिका लागि मैले काम सुरु गरिसकेको छु,’ मन्त्री राईले भने, ‘जिल्लामा ऐतिहासिक महत्वका भौतिक पूर्वाधारहरु निर्माणमा तीव्रता दिइनेछ । निर्वाचनका क्रममा मैले गरेका सबैखाले प्रतिवद्धताहरु पुरा गर्न कुनै कसर बाँकी राख्दिन ।’
समाजसेवी स्व.औतार देई कसौधन (चौधराइन)को आठौं स्मृति दिवसका अवसरमा औतार देई कसौधन चौधराइन सेवा प्रतिष्ठान नेपालगन्जले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री राईले उनले सम्भावित संरचना बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गर्दै भने, ‘अब बाँके जिल्ला मुलुकै नमूना जिल्लाका रुपमा स्थापित हुनेछ ।’
भेरी अञ्चल अस्पतालकी जग्गादाता समेत रहेकी चौधराइनको स्मृतिमा अस्पताल हाताभित्र अत्याधुनिक भवन निर्माणका लागि बजेट विनियोजन भइसकेको भन्दै मन्त्री राईले अस्पतालको स्तरोन्नतीका लागि स्वास्थ्य मन्त्रीसँग समेत छलफल भइरहेको जानकारी दिए । ‘अस्पताललाई स्नरोन्नती गरी सबै प्रकारका सेवा सुविधा सञ्चालन गरिनेछ,’ उनले भने ।
मन्त्री राइले नेपालगन्जमा बहुउद्देश्यीय सभाहल निर्माण, राप्ती नदी किनारको सिधनियाँ घाटमा अध्याधुनिक शवदाह गृह निर्माण, नेपालगन्ज विमानस्थलको स्तरोन्नती, नेपाल नगर उज्यालो कार्यक्रम सञ्चालन, राँझामा अध्याधुनिक धर्मशाला निर्माण र जमुनाहा नाकामा मानसरोवर गेटवे निर्माणका लागि आफूले पहल थालिसकेको जानकारी दिए । 
कार्यक्रममा नेकपा बाँकेका नेता अशोक कोइरालाले दानवीर तथा जग्गादाताहरुको सम्मानका साथै सरकारका नाममा दान गरिएका सम्पत्तिको संरक्षणका साथै सदुपयोगमा जोड दिए । अर्बौं रुपैयाँको जग्गा दान गरेर विकासका लागि महत्वपूर्ण योगदान गर्ने स्व.चौधराइनको नाममा नेपालगन्ज उपमहानगरभित्र चौक नामाकरण गरी शालिक स्थापनाका लागि सबै राजनीति दलहरु लाग्नुपर्ने उनको भनाई थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले दान गरिएका सार्वजनीक सम्पत्तिको संरक्षण र त्यसको समुचित प्रयोगका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए । ‘स्व.चौधराइनले अर्बौ मूल्यको भौतिक सम्पत्ति दान गरेर नेपालगन्जको विकासका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ, हामी उहाँको नाममा सडक मार्गको नामाकरण र चौक स्थापना गर्नेछौं,’ उनले भने ।
स्व.चौधराइनले श्रीमानको सम्झनामा नारायण स्कूल स्थापनाका लागि १९९२ सालमा १३ बिघा जमीन दान गरेकी थिइन् । यसका साथै २०१४ सालमा नेपालगन्जमै उच्च शिक्षाका लागि नारायण देई इन्टर कलेज (हाल महेन्द्र बहुमुखी क्याम्पस) स्थापना गरेकी थिइन् । उनले स्वास्थ्य क्षेत्रका लागि दान गरेको १२ कठ्ठा ९ धुर जमीनमध्ये अञ्चल अस्पतालले ९ कट्ठा र बाँकी जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले उपयोग गरिरहेको छ ।
त्यस अवसरमा जग्गा तथा अन्य भौतिक सम्पत्ति दान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जग्गा दान गर्ने जग्गादाता फत्तेवाल आँखा अस्पतालका श्रीजंग शाह, कन्हैयालाल धर्मशालाका सञ्चालक कन्हैयालाल वैद्य, जोगराज धर्मशालाका सञ्चालक जोगराज अग्रवाल, औतार देई कसौधन चौधराइन सेवा प्रतिष्ठान नेपालगन्जका संस्थापक जगधिसप्रसाद वैश्य राजेन्द्रसिंह सरदार र जय केसलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

।