सूचनाको शक्ति - The Power Of Information

        

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला


नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुने बताए ।
‘काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरा नेता, कार्यकर्ताले बुझ्नुपर्छ,’ महामन्त्री कोइरालाले भने । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन नसकेको बताए ।
यसैबीच, आजै नेपालगन्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए । त्यस अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।
भेलामा बाँके काँग्रेस सभापति किरण कोइराला लगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेको लगायतका गुनासा राखेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०६:०७