
काठमाडौं । कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन् । पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन । पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारणा मिचिन गई अन्याय हुने कानुनी मान्यता छ । तर जिल्ला अदालत महोत्तरीले कर्तव्य ज्यान मुद्दामा गरेको एक आदेशमा यस्तै अवधारण देखिएको कानुनविद्हरुको तर्क छ ।
मधेस आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा अभियोग लागेका व्यक्तिहरुका बीचमा पनि जिल्ला अदालत महोत्तरीले भेदभाव गरेको छ । एकै अभियोग लागेका तत्कालीन मधेसी मोर्चाका नेता (पहुँचवाला)हरुलाई सामान्य धरौटीमा र सामान्य कार्यकर्तालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ ।
एकै अभियोग र एउटै आरोपपत्र लागेका राज्यमन्त्री, पार्टीका महासचिव र मेयरले सामान्य तारेखमा रिहा हुने आदेश प्राप्त गरे भने सामान्य कार्यकर्ता भने पुर्पक्षका लागि थुनामा जान बाध्य भए । भदौ १ गते जिल्ला अदालत महोत्तरीले जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
साउन २८ र २९ गते सोही मुद्दामा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे साधारण तारेखमा रिहा भएका छन् । मन्त्री, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा कापड हाजिर भएका थिए ।
आफ्ना नेताहरु बिनाधरौटी रिहा भएपछि उनी पनि सोही नजीरका आधारमा छुट्ने ढुक्क भएर जिल्ला अदालतमा आफ्ना वकिलमार्फत निवेदन दिए । उनी बिहीबार अदालतमा हाजिर भएका थिए । तर जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक बहसपछि विकको हत्यामा कापडको प्रत्यक्ष संलग्न देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।
उनी जलेश्वर कारागार चलान भएका छन् । उच्च अदालत जनकपुरले साउन १५ गते असइ विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेपछि आरोपितहरु अदालत उपस्थित हुन थालेका थिए । विगत ३ वर्षदेखि फरार रहेका उनीहरुको नाममा तत्काल पक्राउ गर्न परमादेश जारी भएपछि उनीहरु बाध्य भएर अदालत उपस्थित भएका थिए ।
अदालतको आदेशपछि सामाजिक विकासमन्त्री शर्मा, जलेश्वर नगरपालिकाको मेयर मिश्र, राजपा महासचिव पाण्डे र कापड क्रमिकरुपमा अदालतमा हाजिर भएका थिए । असइ विकको हत्यामा २८ जनालाई आरोपी बनाइएको थियो । जसमध्ये २१ जना अभियुक्त प्रहरीको फरार सूचीमा छन् । हेटौंडाबाट शुक्रबार बिहान महोत्तरी जाँदै गरेका असइ थमनबहादुर विकलाई तत्कालीन समयमा आन्दोलनकारीले कुटपिट गरेका थिए ।
कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो । विकको टाउकोमा १६ टाँका लगाइएको थियो भने शरीरभर निलडाम थियो । २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी जाँदै गरेको अवस्थामा उनीमाथि मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए । विकलाई हेटौंडाबाट एक साथीले मोटरसाइकलमा राखेर महोत्तरी लिएर जाँदै थिए ।
उनलाई प्रदर्शनकारीले लखेटेर आक्रमण गरेका थिए । प्रदर्शनकारीले लखेटेपछि विक ज्यान जोगाउन पोखरीमा हामफालेका थिए । पोखरीमा हामफालेका विकलाई प्रदर्शनकारीले पोखरीबाट झिकेर निर्घात कुटपिट गरे । विकको साथमा रहेको मोबाइल, पर्स र केही नगदसमेत प्रदर्शनकारीले लुटेका थिए ।
उनलाई पछि जलेश्वर अस्पताल लगिएको थियो । तर उनको त्यहाँ उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरी गाविसको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे । उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गएको थियो । उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए ।
।