बाँके । आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर बाँके, बर्दिया र दाङ्गमा भौतिक पूर्वाधार निर्माणका कामहरुलाई निकै तीव्रता दिइएको छ । तर अधिकांश निर्माणका कामहरु प्रतियोगिता हुने समयअगावै सम्पन्न हुनेमा आशंका छ । प्रतियोगिता सुरु हुँदासम्म अधिकांश भौतिक संरचनाहरु अधुरै रहने निश्चित भएको छ ।
भौतिक संरचनाहरु निर्माणको गति हेर्दा अधिकांश खेलहरु अधुरै संरचनामा सञ्चालन गर्नुपर्ने देखिन्छ । आगामी मंसीर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज रंगशालामा उद्घाटन हुने तय गरिएको छ । तर, रंगशाला निर्माणको काम भने भर्खरै मात्र सुरु भएको छ । रंगशालामा हाल माटो पटानको काम भइरहेको छ । यो निर्माणको सुरुवाती चरणको काम मात्रै हो ।
कुल रु.६ करोड लागतमा निर्माण हुने नेपालगन्ज रंगशालामा माटो पटानको काम ७० प्रतिशत मात्रै सम्पन्न भएको छ । त्यसबाहेक खेल मैदानमा ग्राभेल गरेर पुनः माटो पटान गरी दुबो रोप्ने काम र आउट ट्रयाक निर्माण बाँकी नै छ । दुबो रोपेपछि खेल मैदानको काम सकिनेछ । खेल मैदानसँगै निर्माण प्याराफिट गर्नुपर्ने छ । तर प्याफिट निर्माणका लागि भने हालसम्म सम्झौता नै भएको छैन ।
रु.२० करोड लागतमा निर्माण हुने प्याराफिटको १० दिनभित्र सम्झौता गरिसक्ने क्षेत्रीय खेलकूद विकास समितिको दावी छ । स्टीमेटअनुसार, एकातिर भिआइपी र तीनतिर दर्शकहरुको प्रयोजनका लागि प्याराफिट बनाइनेछ । प्याराफिट निर्माण सम्झौताका लागि विडिङ र मूल्यांकन भई ठेक्का प्रक्रियाको अन्तिम चरणमा रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमूख विष्णु शर्मा बताउँछन् ।
ती राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी बाँकेको नेपालगन्जमा पौडी पोखरी निर्माण, भारत्तोलन एकेडेमी, जुडो हल, सुटिङ्ग रेन्च, सीतापुरमा शुक्र भलिवल स्टेडियम, कोहलपुर क्रिकेट मैदान निर्माण गर्नुपर्नेछ । क्षेत्रीय खेलकूद विकास समितिका अनुसार रु.१४ करोड २८ लाख ३२ हजार ८०७ लागतमा निर्माण हुने पौडी पोखरीको प्याराफिट बाहेक ५० प्रतिशत निर्माण कार्य सकिएको छ ।
त्यस्तै रु.३ करोड लागत स्टीमेट रहेको भारत्तोलन एकेडेमीको भुइँतलाको निर्माण कार्य सकिएको छ । एकेडेमीको रु.५५ लाख बराबरको काम सकिएको छ भने आवास र कार्यालय तथा सभाहल रहने क्रमशः दोस्रो र तेस्रो तलाको निर्माण कार्य भने कहिले हुने भन्ने कुनै टुंगो छैन । प्रतियोगिताको चार महिना बाँकी रहँदा जुडो हलको निर्माण कार्य पनि अधुरै रहने भएको छ ।
जुडो हल निर्माण सुरु भएर डिपिसीको काम सकिएको छ । क्षेत्रीय खेलकूद विकास समितिका कर्मचारीहरुका अनुसार चार महिनामा निर्माण सम्पन्न गर्न निकै कठिन देखिएको छ । त्यस्तै सुटिङ्ग रेन्च निर्माणका लागि केही दिनअघि मात्रै ठेक्का सम्झौता भई काम सुरु भएको छ । शुक्र भलिवल स्टेडियम निर्माण पनि हालसम्म अधुरै रहेको छ ।
क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमूख शर्माका अनुसार रु.७० लाखको काम सकिए पनि उक्त शीर्षकमा हालसम्म रकम निकासा भएको छैन । रु.१ करोड ७० लाख लागत स्टीमेट गरिएको उक्त स्टेडियम निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रु.१ करोडको आएको जानकारी आफूलाई प्राप्त भएको शर्मा बताउँछन् ।
यसैगरी कोहलपुर क्रिकेट मैदान निर्माणका क्रममा रु.९० लाखमा घेरा पर्खालको काममात्रै सकिएको छ भने माटो पटान, फिलिङ्ग, ग्राभेलिङ्ग र दुबो रोप्ने कामका साथै प्याराफिट निर्माणको काम सुरु नै भएको छैन । बर्दियामा निर्माण हुने कबड्डी हलको निर्माण कार्य पनि अधुरै रहेको छ । ‘हालसम्म रु.१५ लाख मात्रै निकासा भएको छ । हामीले उपभोक्ता समितिमार्फत ४५ लाख बराबरको काम सम्पन्न गरेका छौं,’ कार्यालय प्रमूख शर्माले भने ।
बर्दियाकै भुरीगाउँमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको खोखो हल पनि अधुरै छ । उक्त हल निर्माणमा रु.५० लाख खर्च भएको छ । तर हालसम्म उक्त रकम निकासा भने भएको छैन । कबड्डी हल र खोखो हलको पिलर र डिपिसी लेवलसम्मको काम भएको छ । कार्यालय प्रमूख शर्माका अनुसार प्रतियोगिता सुरु हुनु अगावै खेल सञ्चालन गर्न मिल्ने गरी संरचनाहरु तयार गर्न सबै संयन्त्रहरु परिचालन गरिएका छन् ।
बर्दियाकै गुलरियामा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भइसकेको छैन । उक्त हल निर्माणका लागि रु.१५ लाख निकासा भएको छ । तर रकम निकासा नहुँदै रु.३० लाखमा डिपिसीसम्म निर्माण भएको कार्यालय प्रमूख शर्माले बताए । सुर्खेतमा निर्माण भइरहेको सुर्खेत रंगशाला निर्माणको काम भने यसबर्ष क्षेत्रीय खेलकूद विकास समितिलाई दिइएको छैन । यसअघि समितिमार्फत रु.८५ लाखमा ठेक्का सम्झौता भई काम भएको थियो ।
दाङ्गको बेलझुण्डीमा रंगशाला निर्माणको काम ठेक्का सम्झौतामार्फत १० दिन अघिमात्रै सुरु भएको छ । प्रतियोगिता सुरु हुन चार महिना बाँकी रहँदा रंगशाला निर्माणको काम सकिनेमा आंशका नै छ । त्यस्तै लमही क्रिकेट मैदान निर्माणको डिपिआर तयार भइसकेको छैन । तर घेरा पर्खाल र माटो पटानको कार्य भने सकिएको छ । उक्त मैदानको नाला र माटो कटानको जिम्मा भने लमही नगर विकास समितिले लिएको छ ।
‘संघीयतासँगै केन्द्रबाट बाँके, बर्दिया र दाङ्ग केन्द्रीत बजेट विनियोजन भएको छ,’ क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमूख शर्माले भने, ‘संघीयताअघि सुर्खेतमा पनि भौतिक पूर्वाधार निर्माणका केही कामहरु गर्नुपर्ने थियो । तर अहिले सुर्खेतका लागि केन्द्रबाट बजेट आएको छैन ।’ भौतिक पूर्वाधार निर्माणमा बजेट निकासामा भएको ढिलाईका कारण समस्या भएको कार्यालय प्रमूख शर्माले बताए ।
प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने भए पनि अधुरै संरचनामा खेल सञ्चालन गर्नुपर्नेछ । प्रतियोगिताका खेलहरू पूर्वाधारअनुसार बाँके, बर्दिया र दाङ हुनेछन् । केही दिनअघि खेलकुद मन्त्री जगत विश्वकर्माको उपस्थितिमा बसेको प्रतियोगिता मुल आयोजक समारोह समितिको बैठकले बाँकेमा २१, दाङ्गमा १० र बर्दियामा ४ वटा खेल सञ्चालन गर्नेगरी टुंगो लगाइसकेको छ ।
बैठकले नेपालगन्ज रंगशालालाई स्तरोन्नति गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाउने निर्णय गरेको भए पनि तोकिएको समयावधिभित्र सम्पन्न हुने वा नहुने टुंगो छैन । फोल्डिङ प्याराफिट बनाउनका लागि ठेक्का सम्झौता नै नभएका कारण निर्माण अनिश्चित बनेको छ । क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमूख शर्माका अनुसार ठेक्का प्रक्रियामा आएका चार वटा ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण गरिसक्ने दावी गरेका छन् । तर ठेकेदार कम्पनीको भने हालसम्म छनौट भइसकेको छैन ।
फोल्डिङ प्याराफिट निर्माणका लागि विदेशी मुलुकबाट सामान आयात गर्नुपर्नेछ । तर कुन देशबाट सामान आयात हुने हो भन्नेमा स्वयं आयोजक नै जानकार छैनन् । ‘ठेकेदार कम्पनी छनौट भइसकेपछि फोल्डिङ प्याराफिट निर्माण सामाग्री कुन देशबाट कसरी आयात हुन्छ भन्ने जानकारी हुन्छ,’ क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय अन्तरगत भौतिक निर्माण शाखाका प्रमूख इन्जिनियर कार्मबहादुर शाही भन्छन्, ‘ठेक्का सम्झौता नभई हामीलाई जानकारी हुँदैन ।’
उनका अनुसार सम्पर्कमा आएका ठेकेदार कम्पनीहरुले बढीमा ४५ दिनभित्र फोल्डिङ प्याराफिट निर्माण सामाग्री नेपालगन्ज ल्याइपु¥याउने दावी गरेका छन् । इन्जिनियर शाही भन्छन्, ‘ठेकेदारहरुले दावी गरेअनुसार फोल्डिङ प्याराफिट निर्माण सामाग्री नेपालगन्ज आइपुगेमा प्रतियोगिता सञ्चालनपूर्व नै काम सम्पन्न हुनेछ । त्यसो नभए हामीसँग खेल मैदानमात्रै सम्पन्न गरी फोल्डिङ प्याराफिट निर्माणको कामलाई रोकेर खेल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
।