सूचनाको शक्ति - The Power Of Information

        

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव

सिकलसेल एनिमिया भएका बिरामीलाई जाँच गर्दै भेरी अञ्चल अस्पतालका डा राजन पाण्डे । फाइल तस्वीर

सिकलसेल एनिमिया भएका बिरामीलाई जाँच गर्दै भेरी अञ्चल अस्पतालका डा राजन पाण्डे । फाइल तस्वीर


नेपालगन्ज । ‘छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । सात लाख रुपैयाँ खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन,’ बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाइन् । शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ ।
यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ । पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन । तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ ।
विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारु समुदायमा यो रोग बढी देखिएको छ । ‘सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भए पनि यो अलि कडा खालको हुन्छ,’ भेरी अञ्चल अस्पतालका डा राजन पाण्डे बताउँछन् । ‘जीवनभर ओखती खाइरहनुपर्ने यसका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र ओखतीको व्यवस्था मिलाउनु पर्छ,’ बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ ।
सरकारले यो रोगको परीक्षण र उपचार गर्न नेपालगन्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथामिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगन्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ । ‘सिकलसेल एनिमिया भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नुहुँदैन । तर, चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन ।
बेलाबेला आफ्नो स्वास्थ्य जाँच गराइरहन सके यसका रोगी सामान्य जीवन बाँच्न सक्छन्,’ भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सुझाव छ । नेपालमा सिकलसेल एनिमिया रोग पत्ता लगाउने पहिलो चिकित्सक डा पाण्डेका अनुसार यसको उपचार क्रममा १२ ले ज्यान गुमाइसके । भेरी अञ्चल अस्पतालमा २१५ को उपचार भइरहेको छ ।
तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । पश्चिम नेपालमा करीब २० लाख थारुको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रूपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आइतवार ०८:४६