‘वर्तमान सरकार संघीयता कार्यान्वयनप्रति गम्भीर छैन’
।
‘सुशासन र सदाचार’ ‘सार्वभौमसत्ता र स्वाधीनता’ ‘समावेशी, समानुपातिक, सहभागीतामूलक लोकतन्त्र’ भन्ने विचारमा नयाँ शक्ति नेपाल पार्टीले आफ्ना गतिविधिहरु सञ्चालन गर्नै आएको छ । यसका साथै जनताद्वारा निर्माण गरिएको संविधान प्राप्त गरेका छन् । तर वर्तमान सरकार संविधानको मर्म र भावना विपरित अघि बढिरहेको नयाँ शक्तिको ठहर छ । वर्तमान सरकारका काम कारबाही, संघीयता कार्यान्वयनको अवस्था लगायतका बारेमा नयाँ शक्ति नेपाल सुर्खेतका सचिवालय सदस्य रविकिरण हमालसँग सत्यपाटीले गरेको कुराकानी :
सरकारले गरेका काम कारबाहीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– हामीले लामो समय करिब ७ दशक लगाएर जनताका प्रतिनिधिले आफै बनाएको संविधान प्राप्त गरेका हौं । त्यसपछि बन्ने सरकार पूर्णरूपमा नयाँ तरिकाले चलोस् भन्ने आमजनताको चाहाना थियो । तर केपी ओली नेतृत्वको सरकार पुरानै सरकारको एक्टेन्सन फर्ममा मात्र देखिन्छ । हामी मात्र होइन कोही पनि सरकारबाट आशावादी र सन्तुष्ट छैनन् ।
सरकार कहाँ चुक्यो ? किन उहीँ निरन्तरता दोहोरियो ?
– वास्तविकता के हो भने अहिले नेतृत्व गरेका प्रधानमन्त्रीले नेपालमा गणतन्त्र, संघीयताजस्ता मुद्दाहरु ल्याउनुपर्ने आवाज कहिल्यै उठाएका थिएनन्, उनी राजतन्त्र रहँदा पनि धेरैपटक मन्त्री सांसद भएका थिए । माओवादी बिद्रोह र त्यसपछिका जनआन्दोलनले जबर्जस्त यी मुद्दाहरु स्थापित गरेपछि लतारिएर आउन बाध्य भए । मुख्यत बिद्रोह गर्न सजिलो थियो, टायर बाले पुग्थ्यो, ढुंगामुढा गरे हुन्थ्यो, भौतिक संरचना भत्काए पुग्थ्यो । तर निर्माण गर्न गाह्रो हुन्छ, धेरै कुराको बन्दोबस्त गर्नुपर्ने हुन्छ । राजतन्त्रलाई समाप्त पारेर संघीय गणतन्त्रमा जानुपर्छ भन्ने कुरामा सबैजसो दलहरू सहमत भए पनि नेपाल कस्तो बनाउने भन्ने इनोभेटिभ आइडिया थिएन ।
आज असारे विकास, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती लगायत कुराले प्रष्ट पार्छ कि सरकार समृद्ध नेपाल निर्माणको मार्गबाट भाग्दैछ भनेर । सरकार प्रहिलो कुरा विधिको शासन लागु गर्न मै चुक्यो, त्यसपछि क्रोनी क्यापिटिलिज्म (आसेपासे पोस्ने पूजिँवाद) र तस्कर, गुण्डा, माफीया, ब्यापारीलाई काखी च्यापेर जनतामाथि दमन गर्न पुग्यो । लोकतान्त्रिक विधीमार्फत बनेको सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्नु कता छ कता उल्टै निषेधित क्षेत्र तोकेर शान्तिपूर्ण प्रदर्शनमा दमन गर्नतिर लागेकै कारण विश्वास गुमाउँदैछ ।
संघीयतामा गइसकेपछि अवश्य नै धेरै राष्ट्रसेवकहरु चाहिन्छन् । त्यसको ब्यवस्थापनको लागि मुलुक औद्योगिकरणमा जानुपर्छ, अहिले गाउँगाउँमा जनप्रतिनिधिहरु राज्य कोषको दोहन गरिरहेका छन् । आफ्नो तलव भत्ता सुविधा बढाउने कुरामा नै बढी केन्द्रित छन्, भ्रष्टाचार महामारी झैं फैलिएको छ ।
संघीयताप्रति जनताको आक्रोश बढ्दै गएको छ, देशले संघीयता धान्न नसक्ने हो ?
– लामो समय एकात्मक केन्द्रीकृत शासन ब्यवस्थाकै कारण नेपाली जनताले राज्यको आभास पाएनन् । विकास निर्माण देखी राहतका लागि जनताले केन्द्रकै मुख ताक्नुपर्ने अवस्था थियो । संघीयता जनतालाई सजह तरिकाले सेवा सुविधा पुर्याउने उद्देश्यले ल्याइएको हो । विकास निर्माणका काम तल्लोस्तरमै आमजनताको सहभागीता भएर सम्पन्न होस् भनेर यसको परिकल्पना गरिएको थियो । तर अहिले गरिब जनताबाट कर उठाएर जनप्रतिनिधिहरु सेवा उपभोग गर्नतर्फ लाग्दा थप समस्या भएको छ । संघीय सरकारले प्रस्तुत गरेको बजेटनै संघीयता विरोधी छ ।
सांसद कोषको नाममा बजेट विनियोजन भएदेखि नै सरकार संघीयता कार्यान्यनप्रति गम्भीर नभएको देखिन्छ । त्यस्तै २३५ मात्र बजेट प्रदेश र स्थानीय तहलाई छुट्याइनु पनि अर्को उदाहरण हो । संघीयतामा गइसकेपछि अवश्य नै धेरै राष्ट्रसेवकहरु चाहिन्छन् । त्यसको ब्यवस्थापनको लागि मुलुक औद्योगिकरणमा जानुपर्छ, अहिले गाउँगाउँमा जनप्रतिनिधिहरु राज्य कोषको दोहन गरिरहेका छन् । आफ्नो तलव भत्ता सुविधा बढाउने कुरामा नै बढी केन्द्रित छन्, भ्रष्टाचार महामारी झैं फैलिएको छ । सुशासन र पारदर्शिता कायम गरेर आर्थिक वृद्धि र विकासमा सरकार केन्द्रित भएन भने संघीयता असफल हुनेछ, त्यो नहोस् ।
नयाँ शक्ति पार्टी स्थापना भएको करिब २ बर्ष पुगिसकेको छ । के गर्दैछ ?
– नयाँ नेपाल बनाउन नयाँ सोच र विचार चाहिन्छ भनेर वैकल्पिक राजनीतिक शक्तिका रूपमा हामीले नयाँ शक्ति पार्टी स्थापना भएको हो । हामीले यसबीचमा तीन वटै तहका निर्वाचनमा सहभागी भएर आफ्ना विचार, योजना र रणनीति जनता माझ पुर्याएका छौं । त्यस्तै विभिन्न हत्या, महिला हिंसा, बलात्कार, भ्रष्टाचार, राष्ट्रघाती निर्णय, कालोबजारी, महङ्गी लगायत जनजीविकाका सवालहरुमा सरकारलाई झकझक्याउन निरन्तर शान्तिपुर्वक आन्दोलन गर्दै आएका छौं । यो बर्ष हामी पार्टीले संघीय महाधिवेशन गर्दैछ । महाधिवेशनकै लागि सिङ्गो पार्टीका अभियान्ताहरु देशभर छलफल, अन्तरक्रिया, भेला, सभा सम्पन्न भइरहेका छन् ।
नयाँ शक्ति नेपाल सुर्खेतका सचिवालय सदस्य रविकिरण हमालसँगको भिडियो कुराकानी :
नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्ति पार्टी उदाउन सक्ला ?
– अवश्य पनि नेपाली जनताले विकल्प खोजेका छन् । बिशेषगरी विज्ञान र प्रविधिसँग नजिक अहिलेको नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको छ । युवाहरूको आवेग र वितृष्णालाई पुराना राजनीतिक दलहरूले गरेका हर्कतविरुद्ध सचेत विद्रोह हुने ठुलो सम्भावना देखेका छौं । हाम्रो पार्टी युवाहरूकै पार्टी हो, हामी युवा साथीहरूलाई नै बिशेष जोड गरेर अगाडि बढिरहेका छौं, नयाँ शक्ति पार्टीको विचार स्पष्ट छ । १. सुशासन र सदाचार २. सार्वभौमसत्ता र स्वाधीनता ३. समावेशी, समानुपातिक, सहभागीतामूलक लोकतन्त्र
यी तीन वटा कुराको जगमा नेपाललाई आर्थिक विकास र समृद्धिको बाटो हुँदै समुन्नत समाजवादमा पुर्याउनु हाम्रो मुख्य लक्ष्य हो । सदाचारयूक्त राजनीतिका लागि सबै युवाहरू नयाँ शक्ति पार्टीमा आवद्ध जति छिटो लाग्छन् त्यति चाडो देश अगाडि बढ्छ ।
अन्तमा, युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
एक विद्वानले भनेका छन्, ‘म्यलत मष्भ दभायचभ मभबतज’ अर्थात् मृत्युभन्दा आगाडि नमर । म युवा साथीहरूलाई आग्रह गर्न चाहान्छु, हामीले नेपाललाई हाम्रै जीवनकालमा शान्त, सुखी र समृद्ध बनाउन सक्नुपर्छ, हाम्रो कर्तव्य हो । मुहान सफा भयो भने मात्रा धारामा सफा पानी आउँछ । त्यसैले मुख्य कुरा नेपालको राजनीतिलाई नै सफा गरौं । विधिको शासन लागु गर्न सबै आआफ्नो ठाँउबाट जिम्मेवार भएर लागौं ।
।