सूचनाको शक्ति - The Power Of Information

        

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’


सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेश जलविद्युत, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको उनले बताए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड दिए । ‘शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको छ,’ उनले भने, ‘शिक्षा गरिखाने हुनुपर्छ, ठगी खाने होइन ।’
प्राविधिक शिक्षा नीति निर्माण (सिटिईभिटी) सुझाव सङ्कलन कार्यदलका सदस्य डा सुनिलबाबु श्रेष्ठले सरकार, नीजि क्षेत्र र सहकारी साझेदारीबाट जानसके मात्र विकास हुने बताए । उनले भने, ‘मुलुकमा अब जागिर दिने शिक्षाको आवश्यकता छ ।’ वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पछिल्लो समयमा भनसुन गरेर मात्र परीक्षामा पास भइन्छ भन्ने डरलाग्दो परिपाटी बसेको बताइन् ।
शिक्षा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति सङ्घले तयार गर्नुपर्नेमा जोड दिए । स्थानीय आवश्यकतालाई मध्यनजर गरी नीति तयार गर्न उनले सुझाव दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, उपसचिव भक्तबहादुर ढकाललगायतले आफ्नो सुझाव दिएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०५:०२