बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकासमा पछाडि छ । गाउँपालिकाका नागरिकसम्म विकासका पूर्वाधारहरूको पहुँच अहिले पनि पुग्न सकिरहेको छैन । विकासको पहुँच नभएकै कारण उनीहरूको नेपालसँग सम्बन्ध पनि त्यति गाढा देखिएको छैन । नेपालभन्दा भारतसँग उनीहरु नजिक छन् ।
नरैनापुरका सीमावर्ती गाउँहरुमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि भारतीय नै प्रयोग गर्छन् । यतिसम्मकी कुनै गाउँहरुमा त नेपाली रुपैयाँ कागजको खोस्टोमै सिमित हुन्छ, किनकी त्यहाँ नेपाली नोट चल्दैन । सीमावर्ती गाउँका अधिकांश नागरिकहरुको कारोबार भारतीय बजारमै निर्भर छ ।
नरैनापुर गाउँपालिकाका अधिकांश नागरिकको नेपालसँग कागजी सम्बन्ध मात्रै हुने गरेको छ । त्यहाँका नागरिकहरूको सबै सम्बन्ध भारतीय बजारसँग जोडिएका छन् । नेपालतिर सडकको राम्रो पहुँच नहुँदा राप्तीपारिका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो । उनीहरूको नेपालमा कानूनी कागज बनाउनका लागि मात्रै आउने गर्दछन् ।
नागरिकता, लालपुर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् । सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोबार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिकसँग नेपालसँग सरकारी कागजपत्र बनाउन र मत हाल्ने बेला मात्र सम्बन्ध हुने गरेको छ । प्रायः नागरिकता र पासपोर्ट लिनका लागि मात्रै सदरमुकाम नेपालगन्ज पुग्छन् उनीहरु ।
अन्य किनमेलका लागि भने भारतीय बजार नै नजिक र सस्तो पनि पर्ने भएकाले स्थानीयहरु उतैको बजारमा निर्भर छन् । राप्तीपारिका अधिकांश नेपालीको रोजगारी मात्रै होइन, ‘बेटाबेटी’को सम्बन्ध पनि भारतसँगै छ । विहेवारी भारतीय चेलीहरुसँगै हुने स्थानीयहरु बताउँछन् । जसका कारण पनि नेपाली रुपैयाँको ठाउँमा भारतीय रुपैयाँ बढी चल्तीमा आउँछ ।
खाद्यान्न लगायतका बस्तु किन्न भारत जानुपर्ने बाध्यता भएकाले नेपाली रुपैयाँ नचल्नुको अर्को कारण हो । सियो, सलाईदेखि खाद्यान्न र स्वास्थ्य उपचार गर्न भारतीय बजार नै पुग्नुपर्ने राप्तीपारिका सीमावर्ती क्षेत्रका नेपालीहरुको बाध्यता हो । ‘नेपाली रुपैयाँ चल्दैन, भारु चल्छ, हामीलाई भारु नै चाहिन्छ,’ कालाफाँटाका स्थानीय सुकदेव यादवले भने ।
राप्तीपारिका गाउँहरुलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने हुलाकी सडक अलपत्र छ । बाटोघाटो अभावमा पनि उनीहरुलाई भारतीय बजारमै निर्भर हुनुपर्छ । ‘सडक, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा नेपालको भन्दै उतैको छ,’ यादव भन्छन्, ‘गाउँमा कोही विरामी पर्दा हाम्रो सदरमुकामबाट एम्वुलेन्स आउनै सक्दैन, आए पनि खराब बाटोका कारण तीन÷चार घण्टा लागिहाल्छ । अनि हामीलाई भारतकै अस्पतालमा सस्तो र सहज हुन्छ ।’
लक्ष्मणपुरका स्थानीय झग्रु यादव भन्छन्, ‘अहिले पनि नेपाली रुपैयाँ चलनचल्तीमा निकै कम छ । मालपोत, नापी, नागरिकता लगायतका काम परेमात्रै सदरमुकाम जानुपर्छ, त्यसैले हामीसँग भारु भन्दा नेरु कमै रकम मात्र हुन्छ ।’ अझ यहाँ नेपाली एक हजार नोटको मूल्य ९६० मात्रै हो । नेरुलाई कम मूल्यांकन गरी कारोबार गरिंदै आएकाले स्थानीय व्यवसायी र सर्वसाधारण भारु नै खोज्छन् ।
जिल्लाकै विकट मानिने उक्त क्षेत्र नेपाली भूमि भए पनि नेरु निकै कम चल्ने गरेको छ । नेपाली रुपैयाँ कम मूल्यमा मूल्यांकन गरी कारोबार गर्दा स्थानीयले कुनै अनौठो मान्दैनन् । पुर्खौंदेखि नेरुलाई कम मानेर कारोबार हुँदै आएको मटेहियाका चिन्कु यादवको भनाइ छ । नेपालमै नेपाली रुपैयाँ नचल्दा बाहिरबाट यहाँ पुग्ने जो कोही व्यक्ति आश्चर्यमा पर्छन् ।
विकट मानिने गंगापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया लगायतका सीमावर्ती गाउँहरुमा भारु बढी चल्ने गरेको छ । यातायात र सडक अभावका कारण यहाँका बासिन्दा सीमावर्ती भारतीय जमुना, मल्हिपुर, लक्ष्मणपुर, भिन्गा, बघौडा, बन्गई बजारमा निर्भर हुनुपर्छ । त्यसैले पनि भारुको बढी कारोबार हुने गर्छ ।
त्यसो त पैसामात्रै होइन भाषा र सवारीसाधनसमेत भारतीय नै देखिन्छन् । भौगोलिक विकटताले नेपालसँगको सीधा सम्पर्कमा नरहेका राप्तीपारिका सिमावर्ती गाउँका नागरिकहरुलाई नेपाली बजारभन्दा भारतीय बजारमै जान सजिलो छ । ‘पैसा, भाषामात्रै नभई सवारीसाधन पनी भारतीय नम्बर प्लेटकै हुन्छन्,’ मटेहियाका चिन्कुले भन्ने, ‘नेपाली नम्बरका सवारी अलि टाढासम्म लैजान दिँदैन, त्यसैल पनि सवारीसाधन किन्दा भारतबाटै किन्छौं ।’
अत्यावश्यक सरकारी कामकाजबाहेक शिक्षा, स्वास्थ्य उपचार, ज्याला मजदुरी, ब्यापार, सञ्चार लगायतका दैनिक जीविका चलाउन भारतमा नै निर्भर हुने सीमावर्ती गाउँका नागरिकहरुले नेपाली सरकारी संघसंस्थाका कामकाजसँग खासै वास्ता पनि हुँदैन । ‘हाम्रो रहनसहन नै भारतीयसँग नजिक छ, हामी नेपाली जमिनमा बसेकै कारण नागरिकता, मालपोत, नापी बाहेकका काममा चासो नै हुँदैन,’ चिन्कुले भने ।
।