कृष्ण अधिकारी । नेपालगन्ज । सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो ।
फराकिला कालोपत्रे सडक र नाला निर्माणले नेपालगन्जको स्वरुप फेरिँदै गएको उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा बताउँछन् । ‘जननिर्वाचित प्रतिनिधिहरु आएपछि लामो समयदेखि रोकिएका विकास निर्माणका कामले अब गति लिन थाल्नेछन्,’ उनले भने ।
नगरवासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरुलाई तोडेर सडक निर्माणको काममा सहयोग गरेपछि उपमहानगरपालिकालाई पनि काम गर्न सहज भएको छ । उपमहानगरपालिका अन्तर्गत क्षेत्रीय सहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइमार्फत १ अर्ब ५३ करोडको लागतमा उपमहानगरका विभिन्न क्षेत्रमा ३६ किमि सडक तथा ४० किलोमिटर निर्माणको काम भइरहेको हो ।
आगामी ३० महिनामा निर्माण सक्ने गरी कालिका कन्स्ट्रक्सन प्रालिले नेपालगन्जको चारवाहिनी–त्रिवेणीमोड सदरलाइन, बलबुलिया सडक निर्माण गरिरहेको छ । कालिकाले एकसाथ एक दर्जन स्थानमा सडक तथा नाला निर्माणको कामलाई अगाडि बढाएको यसका निर्देशक युवराज क्षेत्रीले बताए ।
त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जले पनि उपमहानगरपालिका क्षेत्रमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत करिब ३२ किलोमिटर लामो सडक र नाला निर्माण गरिरहेको छ । करिब १ अर्ब ५० करोडको लागतमा उपहमहानगरपालिका क्षेत्रभित्रका १८ वटा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए ।
डिभिजन कार्यालयले बनाउने सडक ६ देखि १६ मिटरसम्म चौडाइका छन् । ती सबै सडकसँग आवश्यकताका आधारमा नालाहरु पनि निर्माण हुनेछन् । २०७६ असार मसान्तसम्म कार्य पूरा गर्ने गरी निर्माण सुरु भएको हो । निर्माणको कामले राम्रै गति लिएकाले निर्धारित समयमै पूरा हुने इन्जिनियर भुसाल बताउँछन् ।
डिभिजन सडक कार्यालयले निर्माण सुरु गरेका नेपालगन्जको राझा चोकदेखि नेपालगन्ज विमानस्थल गेटसम्मको डेढ किलोमिटरसहित विभिन्न ५ वटा गरी करिब साढे १७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेका छन् । त्यसैगरी हुलाकी सडक आयोजनामार्फत नेपालगन्जको फुलटेग्रादेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको करिब ३ किलोमिटर लामो सडक पनि निर्माणाधीन अवस्थामा छ ।
करिब ४ करोडको लागतमा निर्माण हुन लागेको सो सडक २०७६ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एकैसाथ दुई दर्जनभन्दा बढी स्थानमा कालोपत्रे सडक तथा नाला निर्माण सुरु भएपछि नगरवासी उत्साहित भएको नगरप्रमुख डा राणा बताउँछन् । विकासको कामले गति लिएसँगै मेयर राणा इन्जिनियररिङ शाखाका प्राविधिकहरु लिएर आफै निर्माण कार्यको नियमित अनुगमन गर्दै आएका छन् ।
विकासमा काममा बसमासी नहोस् र गुणस्तरीय काम होस् भनेर अनुगमनमा विशेष ध्यान दिइएको राणाले बताए । वर्षामा नगरवासीले डुबानको समस्या खेप्न नपरोस् भनेर नालाहरुको सरसफाइ मर्मतसम्भारसँगै निर्माणलाई उच्च प्राचमिकताका साथ अगाडि बढाइएको छ ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेका, अतिक्रमण भएर साँघुरा भएका, नाला नभएका कारण डुबानमा परेर खाल्टाखुल्टी भएका सडक धमाधम निर्माण भइरहेका छन् । अतिक्रमण गरी बनाइएका संरचनासमेत हटाइएकाले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो स्वरुप बदल्दै गएको हो ।
–नेपाल लाइभबाट
।