सूचनाको शक्ति - The Power Of Information

        

डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार


शुरबहादुर सिंह/दीपेन्द्र शर्मा । सुर्खेत । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पुर्याउन डिजिटल विद्यालय निर्माणको तयारीमा सरकार लागेको जानकारी दिए ।
प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्नतर्फ जोड दिएको बताउँदै कानूनमन्त्री भण्डारीले भने, ‘सरकारको ‘डिजिटल स्कुूल कार्यक्रम’अन्तर्गत यहाँका माध्यमिक विद्यालयहरुमा विद्युतीय शिक्षण सिकाइको अभ्यासबाट हामीले २४ विद्यालयलाई नमूना बनाउने मापदण्ड तयार पारेका छौँ ।’
प्रारम्भिक चरणमा यस प्रदेशका २४ वटा निर्वाचन क्षेत्रलाई लक्षित गरी प्रत्येक निर्वाचन क्षेत्रमा एउटा डिजिटल विद्यालय निर्माण गरिने मन्त्री भण्डारीले बताए । उनका अनुसार विद्यालय छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यले गरेको मूल्याङ्कन तथा सिफारिसलाई मुख्य आधार बनाइने छ ।
डिजिटल स्कूल कार्यक्रममार्फत माध्यमिक विद्यालय छनोटका लागि विभिन्न सातवटा मापदण्ड तयार गरिएको छ । यी मापदण्डहरुमा सोलार वा राष्ट्रिय प्रणालीबाट विद्युतको पहुँच, माध्यमिक तहमा कम्प्युटर विषयमा अध्ययन अध्यापन, कम्प्युटर सम्बन्धी ज्ञान भएको जनशक्तिको उपलब्धता, विद्यालयको भौतिक तथा सुरक्षा अवस्था, लाभान्वित विद्यार्थीको अभिरुचि, इन्टरनेट सेवाको उपलब्धता र विद्यालयको माग, तत्परता, अपनत्व र दिगोपन रहेका छन् ।
सातवटा मापदण्डलाई सय पूर्णाङ्क कायम गरी सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यहरुले दिएको नम्बर र गरेको सिफारिसलाई आधार मानी विद्यालय छनोट गर्ने जनाइएको छ । मापदण्डअनुसार छनोट हुने विद्यालयका लागि प्रारम्भिक चरणमा सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । बाँकी बजेट प्रदेश सरकारले थप गर्ने मन्त्री भण्डारीले बताए ।
सरकारले निर्माण गर्ने डिजिटल विद्यालय सुशान्त, बालबालिकामैत्री र सिसी क्यामेरा जडित हुनेछ । डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराइनेछ । एन्ड्रोइड अर्थात एप्लिकेशनमार्फत अभिभावकले आफ्ना बालबालिकाको पठनपाठनको अवस्थाका बारेमा जानकारी राख्न सक्नेछन् ।
ई–लाइब्रेरीको व्यवस्था हुनेछ । हरेक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड रहनेछ । बालबालिकालाई भविश्यको अन्वेषक बन्न उत्प्रेरित गर्नेछ । इन्टरनेटको सहयोगाट शिक्षक विद्यार्थीलाई विश्वसँग जोडिएर नवीनतम् ज्ञान, सन्देश, सूचना तथा जानकारी लिन सहजता मिल्नेछ ।
दुर्गम गाउँ तथा मनस्थिति सुगममा परिणत हुनेछ । यसले डिजिटल कर्णाली अभियानको व्यावहारिक कार्यान्वयन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसबाट विगतमा शिक्षाको आधारभूत सुविधाबाट बञ्चित कर्णालीका विद्यार्थीको शैक्षिक स्तरमा सुधार आउनुको साथै प्रतिस्पर्धामा खरोरुपमा उत्रिनसक्ने विश्वास गरिएको छ । रासस

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतवार १४:२१