बाँके । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागु हुने स्थानीय तहको आज निरिक्षण गरेका छन् । मन्त्री चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालनको तयारीमा रहेका बाँकेका जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाको निरिक्षण गरेका हुन् ।
जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकनपछि आइतवार वडा नं. २ बेलभारमा जनप्रतिनिधि र सर्वसाधारणलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेश मन्त्रालयबाटै यहाँको समस्याको बारेमा बुझेको भए पनि वर्षायाममा यहाँको प्रत्यक्ष अवस्था बुझ्न निरिक्षणमा आएको बताए ।
‘अहिले वर्षाको समयमा निरिक्षण गर्दा प्रत्यक्ष समस्या बुझिने भएकोले आगामी दिनमा त्यसबाट योजना बनाउन पनि सजिलो हुन्छ,’ प्रदेश ५ सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले भने, ‘यसैवर्ष सबै समस्या समाधान हुँदैन, तर धेरै कुराको सम्वोधन हुनेछ ।’
अब यहाँका सडकहरु वर्षायाममा हिलाम्मे नहुने दावी गर्दै मन्त्री चौधरीले भने, ‘पिच नभए पनि अहिलेको जस्तो हिलाम्मे हुनुपर्दैन, राम्रो सडक बनाउँछौ । हिँड्ने सडक र पढ्ने विद्यालयको व्यवस्था गरिदिन्छौँ, तर छोरी बुहारी पनि तपाईहरुले पढाउनुस् । छोरा मात्रै पढेर विकास नहुने बताउँदै उहाँले महिला शिक्षित नभएसम्म समाज विकास नहुने उल्लेख गरे ।
हरेक परिवार शिक्षित बनाउने लक्ष्यका साथ प्रदेश सरकारले यो वर्ष पूर्ण साक्षर बनाउने नीति लिएको बताउँदै उनले भने, ‘छोरामात्रै होइन, छोरीसँगै बुहारीलाई पनि पढाउनुस्, तपाई पनि अनौपचारिक शिक्षा भए पनि पढ्नुस् ।’ मन्त्री चौधरीसँगै प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेल लगायतले विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन गरेका थिए ।
।