दुर्गा सुवेदी
पुस्तक अंश
मैले सुशीला (कार्की) जीलाई विराटनगरमा जनता प्राथमिक पाठशालाको प्रधानाध्यापक हुँदादेखि नै चिनेको हुँ । काठमाडौंमा मावलीमा बसेर पढेपछि पाँच कक्षामा भर्ना हुन त्यही स्कुलमा पुग्दा उनलाई पहिलोपटक देखेको थिएँ । पछि जनता स्कुल प्राथमिक र माध्यमिक भनेर छुट्टियो ।
मोरङ कलेजमा पढ्दा पनि स्ववियु निर्वाचनमा प्रजातान्त्रिक पक्षको चुनावी अभियानमा उनी संलग्न थिइन् । त्यसपछि म हवाई अपहरणमा संलग्न भई भारतमा भूमिगत बसेँ । जेल परेर मुद्दा खेप्दै थुप्रै वर्ष बिते । भारतीय जेलबाट जमानतमा छुटेर नेपाल फर्किंदा सुशीला वकालत पेसामा स्थापित भई व्यस्त थिइन् ।
म मानव अधिकार सङ्गठन, एमनेस्टी इन्टरनेसनलजस्ता संस्थामा सक्रिय भएँ । मेरै सक्रियतामा कृष्ण पहाडी, प्रदीप पोखरेल, शम्भु कार्की र सुशीलाहरू पनि संस्थामा संलग्न भए । यिनै संस्थाको कार्यक्रममा मेरो सुशीलासँग भेट भइरहन्थ्यो ।
एक दिन अचानक सुशीलाले नै मसँग विवाहको प्रस्ताव राखिन् । त्यस दिन मैले केही जवाफ दिन सकिनँ । वैवाहिक जीवनमा बाँधिएर घर–परिवार चलाउने मेरो अवस्था थिएन । उनको प्रस्तावले म तरङ्गित भएँ ।
विवाहपछिको जीवन कस्तो होला, के गर्ने, के नगर्ने भन्ने कुरा मनमा खेलाउँदै एक हप्ता बित्यो । यस्तो कुरामा कसैसँग सल्लाह लिनु पनि उचित थिएन । त्यसैले उहाँसँगै बसेर खुला विचार–विमर्श गर्ने निधो गरेँ । धरानस्थित उनको ल फर्म पुगेर छलफल गर्दा ज्यादै सरल रुपमा प्रस्तुत भइन् । ‘मैले सबै कुरा सोच–विचार गरेर प्रस्ताव राखेको हो । वकालतको आयबाट परिवार चलाउन सजिलै सम्भव छ । तपाईंको सादगीपूर्ण जीवन र स्वभाव मसँग मिल्छ । हामी मिलेपछि कसले के गर्ने, के भन्ने? म विवाह गरेर विलासी जीवनयापन गर्ने पक्षमा भएको भए उहिल्यै बिहे भइसक्ने थियो,’ उनले भनिन् ।
खुला र हार्दिक छलफलपछि हामी विवाह गर्ने टुङ्गोमा पुग्यौँ । १३ साउन २०४६ मा विराटनगरमा बिहे गर्ने निर्णय भयो । त्यतिबेला विराटनगरको महेन्द्र चोकमा मेरा अनन्य मित्र टीकाप्रसाद उप्रेतीको एउटा रेस्टुराँ थियो । त्यसैको छतमा विवाह समारोह गर्ने कुरा भयो । जलपानको प्रबन्ध टीकाजीले आफ्नै तर्फबाट गरिदिनुभयो ।
हाम्रो विवाह समारोहमा उपस्थित हुन गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नोना कोइराला, शैलजा आचार्य, मञ्जु कोइराला (मातृकाप्रसाद कोइरालाकी पत्नी), विराटनगर पञ्चायतकी भूतपूर्व प्रधानपञ्च शान्ता पोखरेल आदिलाई मौखिक आमन्त्रण गरेको थिएँ । सुशीलाले पनि भरतमोहन अधिकारी, देवी घिमिरे, माधव भट्टराई, शान्तिराम भण्डारीसहित ६० जनाजति आफ्ना वकिल मित्रलाई बोलाएकी थिइन् ।
बोलाएका प्रायः उपस्थित थिए । पत्रकार मोहन भण्डारी, सुवास ढकाल र रामरिझन यादव पनि विवाह समारोहमा आएका थिए । विवाहमा हामी दुवै परिवारका कोही पनि उपस्थित नभएकाले कसैले अभिभावकत्व लिनुपर्ने कुरा उठ्यो । त्यसपछि गिरिजाप्रसाद कोइराला मेरो र मनमोहन अधिकारी सुशीलाको अभिभावक बन्नुभयो । विवाहमा कुनै धार्मिक रीति–रिवाज भएन ।
माला लगाउने र सिन्दूर लगाइदिने मात्र काम भयो । सुशीलाले एउटा सानो तिलहरी बनाएर ल्याएकी थिइन्, यो मैले उनलाई लगाइदिएँ । मैले मेरा तर्फबाट केही पनि लगेको थिइनँ । हाम्रो समाजमा आदिकालदेखि नै मागी विवाह गर्ने चलन छ । रोजी विवाह त्यति प्रचलनमा छैन । जात, उमेर, धर्म र धन–सम्पत्ति हेरेर मात्र मागी विवाह हुन्छ । जुन बेला हामीले विवाह गर्यौँ, त्यसबेला पनि हामी दुईमा मेल खाने कुरा निकै थोरै थिए ।
यसैले होला, हाम्रो विवाहमा परिवारका कोही पनि उपस्थित भएनन् । न सुशीलाका, न त मेरो परिवारका । सुशीला कार्की र मैले २०४६ सालमा रोजी विवाह गरेका हौं । यस्तो विवाहमा मात्र मनको मिलन जरुरी हुन्छ । सुशीला सम्पन्न क्षत्री परिवारकी उच्च शिक्षा प्राप्त नारी, म ब्राह्मण कूलको पुरुष । त्यसमा पनि राजनीतिक विद्रोहमा सामेल हुँदा सर्वस्वहरणमा परेको । भारतमा जेलनेल र यातना भोगेर आएको ।
विमान अपहरणको मुद्दामा तारेखमा छुटेको । विवाह हुँदा मुद्दा फिर्ता भइसकेको थिएन । काङ्ग्रेस पार्टी छोडिसकेको र कुनै पेसा–व्यवसाय नभएको । हामीबीच यस्तो विजातीय विवाह हुँदा उनको परिवारले स्वीकार्ने कुरै थिएन । सुशीलाका माता–पिताले आफ्नी शिक्षित छोरीको बिहे धन–सम्पत्तिले परिपूर्ण पुरुषसँग होस् भन्ने इच्छा राखेका थिए होलान् ।
तर, उनीहरूले सोचेभन्दा विपरीत सम्बन्ध छोरीले स्थापित गर्दा परिवारबाट उनले तिरस्कारको पीडा भोग्नुपर्यो । नेपाली समाज जात–भात र उच–निचको कुरालाई लिएर अहिलेसम्म उदार छैन भने त्यो त पञ्चायतकालको कुरा थियो । मसँग विवाह गरेपछि माइती पक्षले सुशीलासँग सम्बन्ध नै तोड्यो । बिहेपछि सुशीला माइती गएकी छैनन् । प्रधानन्यायाधीश भएपछि बल्ल उनका भाइ भेट्न आए ।
मेरो परिवारमा पनि त्यस्तो सोच अझै छ । मेरा दुवै भाइले सुशीलालाई भाउजूका रूपमा स्वीकार गरे । तर, उनीहरूका कट्टर ब्राह्मणी पत्नीहरूले अझै स्वीकार गर्न सकेका छैनन् । उनीहरू अहिले पनि सुशीलाले पकाएको खाँदैनन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास बनाएकी, सम्पूर्ण नारीका लागि प्रेरणाकी स्रोत भए पनि घरभित्रै उनको कदर भएन । नेपाली समाज कति पछौटे छ र नारीहरूले कस्तोसम्म सहनुपर्छ भन्ने कुराको यो एउटा उदाहरण हो ।
बिहे भएको भोलिपल्टैदेखि सुशीला अदालतमा बहस गर्न जान थालिन् । म भने घरको काममा लागेँ । मैले जेल बस्दा नै खाना पकाउने काम सिकेको थिएँ । सुशीलालाई भान्साको काममा फुर्सद पनि हुँदैनथ्यो । र, उनलाई यसबारे त्यति ज्ञान पनि थिएन । त्यसबेला उनको ल फर्म धरान अञ्चल अदालतछेउ थियो । वकालतको आयबाट उनले त्यहाँ एकतले पक्की घर बनाएकी थिइन् ।
मोरङको मझोर गाउँको एक सन्थाल युवकलाई घरमा राखेर पढाएकी पनि थिइन् । उसैले भान्सा पनि चलाउँथ्यो । विराटनगरमा सानो दुई कोठाको टिनको छानो भएको मेरो घर थियो । विवाहपछि हाम्रो बसाइ कहिले धरान त कहिले विराटनगरमा हुन थाल्यो । विराटनगरको यो घर बनाउँदाको पनि कथा छ । भारतीय जेलबाट जमानतमा छुटेपछि जब म विराटनगर आएँ, मलाई कसैले डेरा दिएनन् । एक त पञ्चायतको बेलाको काङ्ग्रेस, त्यसमाथि विमान अपहरणको मुद्दा लागेको ।
मानिसहरु प्रशासनको त्रासले मलाई डेरा दिन डराउँथे । पञ्चायतकालमै विराटनगरको मेयर भएका ठाकुर कोइराला र म सँगै विराटनगर जेलमा बसेका थियौं । नगरपालिकामा भएको भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेकाले म पक्राउ परेको थिएँ । उहाँ हाम्रै आन्दोलनले गर्दा पक्राउ पर्नुभएको थियो । पछि मैले डेरा नपाएको कुरा गरेपछि उहाँले भन्नुभयो, ‘किन डेरा खोज्दै हिँड्नुहुन्छ । यहाँ मेरो जति पनि जग्गा छ । म तपाईंलाई जमिन दिन्छु, घरै बनाउनूस् ।’
त्यसबेला म भारतका पत्र–पत्रिकामा निकै धेरै लेख लेख्थेँ । एउटा लेखको दुई सय भारुजति आउँथ्यो । जोगवनीको युको बैंकमा मेरो खाता थियो, त्यसैमा पैसा आउँथ्यो । त्यसबेला मेरो बैंकमा १५ सयजति भारु थियो । मैले त्यति पैसामा खरले छाएको काठेघर बनाउने योजना बनाएँ । तर, मित्र टीका उप्रेतीले भने, ‘किन त्यस्तो घर बनाउने, इँटाको दिवाल उठाएर टिनले छाउनूस् । हामी सहयोग गर्छौं ।’
मेरो कलेजका गुरु इन्द्रमणि न्यौपानेको इँटाभट्टा थियो । उहाँले भन्नुभयो, ‘इँटालाई पैसा हाल्न पर्दैन । मेरोमा बिग्रेका इँटा टन्नै छन्, लैजाऊ ।’ मैले तिनै इँटा ल्याएँ । भारतीय पत्रिकाले दिएको पैसाले टिन किनेँ । बाबुराम भट्टराई र हिसिला यमीसँग मेरो दोस्ती थियो । माओवादी नेता हुनुभन्दा पहिले हिसिला आर्किटेक्ट इन्जिनियर हुनुहुन्थ्यो । उहाँले नै कटेज बनाउनूस् भनेर घरको नक्सा बनाई दिनुभयो ।
हिसिलाले बनाएको नक्सा अनुसार नै मैले घर बनाएको हुँ । विवाहको एक वर्षपछि धरानको घर बेचेर हामी विराटनगर बस्न थाल्यौं । हाम्रो विवाह भएको सात महिनापछि २०४६ सालमा प्रजातन्त्र पुनःबहालीका लागि काङ्ग्रेस र वाममोर्चा मिलेर संयुक्त जनआन्दोलन प्रारम्भ गरे । त्यसको पक्षमा देशभरका वकिलहरुले प्रदर्शन गर्न थाले ।
विराटनगरमा भएको वकिलको प्रदर्शनमा सुशीला पनि सहभागी हुँदा उनलाई पक्राउ गरेर जेल चलान गरियो । म भने भारततर्फ लागेर दिल्लीमा आन्दोलनको प्रवक्ता भई काम गर्न हृषीकेश शाह र प्रदीप गिरीको टिममा सामेल भएँ । आन्दोलन सफल भएर सुशीला जेलमुक्त भएकै दिन म विराटनगर आइपुगेको थिएँ ।
त्यसपछिका दिन धेरै नै अविस्मरणीय रहे ।
सुशीला कार्की आफ्नो परिवारजनले सोचेजस्तो धन–सम्पत्ति सम्पन्न त हुन नसके पछि न्यायाधीश हुँदै देशको प्रथम महिला प्रधानन्यायाधीशसम्म भएर इमानदार न्यायमूर्तिका रुपमा स्थापित हुन सफल भइन् । मसँग भएको विजातीय रोजी विवाह सुखद रह्यो । मलाई पनि यसमा गौरव छ ।
सुशीलाले आफ्नो वैवाहिक जीवनमा बुहारीको भूमिका निर्वाह गर्नुपरेन । हाम्रो विवाह हुँदा मेरा माता–पिताको मृत्यु भइसकेको थियो । मेरा दुई भाइ कालीदास र सीताराम सुवेदी आ–आफ्नो तरिकाले जीवनयापन गरिरहेका थिए, जसले गर्दा उहाँ वकिल, न्यायाधीश, प्रधानन्यायाधीश, पत्नी र आमाको भूमिका निर्वाह गर्न अत्यन्तै सफल भइन् ।
नारीका रुपमा जन्मिएपछि हाम्रो समाजमा आदिकालदेखि नै छोरी, बुहारी र आमा हुँदै सासूसम्मको दायित्व निर्वाह गर्नुपर्छ । सुशीलाले आमासम्मको भूमिका निर्वाह गर्न सफल भइन् । अब सासूको भूमिका बाँकी छ । त्यो पनि सुखद र सफलै हुनेमा म विश्वस्त छु ।
(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीको भर्खरै प्रकाशित पुस्तक ‘विमान विद्रोह’को सम्पादित अंश । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।)
-सेतोपाटीबाट
।