सूचनाको शक्ति - The Power Of Information

        

वडासदस्य नै बेरोजगार बनेपछि काम खोज्दै कुवेतमा !

प्यूठान । आफूले चुनाव जितेमा गाउँमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश जान नदिने भन्दै भोट मागेर चुनाव जितेका प्यूठानका एक जना जनप्रतिनिधि आफैँ वैदेशिक रोजगारीमा गएका छन् । प्यूठान स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर काम खोज्दै कुवेत गएका हुन् ।
स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वा्चित पुन मगर चुनाव सकिएको वर्ष दिन नपुग्दै विदेश गएका हुने । घरको आर्थिक स्थिती कमजोर भएपछि उनी दुई महिनाअघि नै कुवेत गएको स्थानीयबासीले बताएका छन् ।
गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निराश भएका छन् । गाउँमै केही गर्न सकिन्छ भन्ने आशमा रहेका उनका दौतरी र स्थानीयबासीले जनप्रतिनिधि नै विदेश गएकाले गाउँमै धन कमाउने मेसो नभएको प्रतिक्रिया दिने गरेका छन् ।
स्थानीय तह चुनावमा पुन मगर राष्ट्रिय जनमोर्चाबाट ६२७ मतसहित वडा सदस्यमा निर्वाचित भएका थिए । तर उनी विदेश गएको कसैलाई थाहा थिएन । गाउँबाट सुटुक्क विदेश पुगेका नारायणका बारेमा वडाध्यक्ष मेघराज जिसीले उनी विदेश पुगेपछि मात्र थाहा पाएको बताए ।
‘काठमाडौंमा कामका लागि बेलाबेला जाने गरेको त थाहा पाएको थिएँ,’ जिसीले भने, ‘कुवेत पुगेपछि मात्र विदेश गएको थाहा भयो ।’ वडाध्यक्ष जिसीले आफूहरुसँग विदेश जानेबारे कुनै सल्लाह नै नगरेको जानकारी दिए । विदेश पुगेपछि पुनमगरले फोन गर्दै चुनावमा उठेर गल्ती गरेको बताएको जिसीले बताए ।
आफूसँगको कुराकानीमा नारायणले गाउँमा समाजसेवा मात्र ठूलो नभएको भन्दै परिवार पाल्नको लागि आफू विदेशिनु परेको बताएको वडाध्यक्ष जिसीको भनाइ छ ।
यता वडा सदस्य पदबाट राजीनामा नदिइकनै विदेश गएका वडा सदस्य पुन मगरको तलब परिवारले बुझेका छन् । निर्वाचित पुन मगरका परिवारले निर्वाचनपछि ८ महिनाको ७ हजारका दरले ५६ हजार रुपैयाँ तलब बुझेका हुन् । ८ महिना उनले वडा सदस्य भएर काम गरेका थिए ।
उनको घरमा बुवाआमा, श्रीमती र एक छोरा छन् । घर व्यवहार धान्ने एक्लो जिम्मा पुन मगरकै रहेको स्थानीयको भनाइ छ । उनी वडा सदस्यमा निर्वाचित हुनुअघि पनि रोजगारीका लागि विदेश नै गएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १३:०८