सूचनाको शक्ति - The Power Of Information

        

सिक्टा सिँचाइ अनियमितता छानबिन गर्दै अख्तियार


काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोली परिचालन गरेको छ । नहर परीक्षणकै क्रममा भत्किएपछि त्यसको गुणस्तरमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्नेबारे शुक्रबार निर्णय भएको हो ।
आइतबारसम्म आयोजनास्थलमा टोली अध्ययनका लागि जाने अख्तियार स्रोतले जनाएको छ । राष्ट्रिय गौरवको आयोजन निर्माणमा चरम लापरबाही भएको भन्दै समाचार प्रकाशन भएको प्रति ध्यानाकर्षण भएकाले विस्तृत अनुसन्धानका लागि आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको अख्तियारले जनाएको छ ।
उक्त समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । आयोजना निर्माणमा हालसम्म भएको कामकारबाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीव्रता दिने कार्य आयोगले अघि बढाएको उनले बताए ।
बहुप्रतिक्षीत आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षण क्रममा भत्किएको थियो । जिल्लाका विभिन्न सरोकारवाला निकायहरुले आयोजनाको मूल नहरको निरीक्षण गरेर निर्माण छानबिनको माग गर्दै आएका थिए । बाँकेको ढकेरीस्थित झिझरी खोलानजिक आयोजनाको दायाँ मूल नहर गत मंगलबार परीक्षण क्रममा भत्किएको थियो ।
राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित बाँधस्थलदेखि ३५ किलोमिटरसम्मको मूल नहर अन्यत्र पनि ठाउँठाउँ चर्किएको छ । २०६३ सालबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरमा प्रतिसेकेन्ड ५० क्युसेक पानी बग्न सक्ने क्षमता छ ।
आर्थिक वर्ष २०७३/७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपियाँ विनियोजन गरेको थियो । अहिलेसम्म ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण काम आव २०७६/७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ । कुल ४५ किमि मूल नहरमध्ये ३५ किमि खण्ड गत वर्ष सम्पन्न भएको थियो । चालू वर्ष बाँकी १० किमिको निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ०१:१५