भीमदत्तनगर । महेन्द्रनगरबाट भीमदत्त नगरपालिकामा परिणत भएको एकदशक बितेसँगै कञ्चनपुरको सिमान्त जिल्ला कञ्चनपुरका भीमदत्तनगरपालिका विकासमा छलाङ्ग मार्न थालेको छ । विसं २०६५ मा शहीद भीमदत्त पन्तको सम्मानका लागि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट महेन्द्रनगर नगरपालिकालाई भीमदत्तमा परिणत गरिएको थियो ।
यो दशकको बिचमा भएको थुप्रै व्यवस्था परिर्वतनकाबीच भीमदत्तनगरको आर्थिक, भौतिक पूर्वाधार, कृषि, शैक्षिक लगायतका क्षेत्रमा निकै विकास भएको छ । प्रदेश नं ७ मै सुदूरपश्चिम विश्वविद्यालय यहाँको शैक्षिक धरोहर भए पनि प्राध्यापक र विभिन्न विद्यार्थी संगठनको विरोध, आन्दोलन र दबाबमा पछिल्लो समय विश्वविद्यालय ओरालो गतिमा छ ।
विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनपछि भीमदत्तले समृद्धितर्फ अघि बढ्ने अवसर पाएको छ । हाल कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्ने भीमदत्त नगररपालिकामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास हरेक बस्तीसम्म पुगेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट बताउँछन् ।
‘हामी विकासमा राजनीति गर्दैनौँ भनेर अघि बढेसँगै यहाँका सबै नगरपरिषद् र कार्यपालिकाका बैठकबाट निर्णयसमेत सर्वसम्मतरुपमा हुनु सुखद् पक्ष हो,’ नगरप्रमुख विष्टले भने, ‘हामीबीच भएको एकता र सद्भावकै कारण एक वर्षमा ३१ वटा कानून निर्णण गर्न सकेका छौं ।’ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय सरकारले गरेको प्रगति विवरण सुनाउँदै नगरप्रमुख विष्टले जनशक्ति अभावकाबीच स्मृतिका निम्ती सबैसित हातेमालो गरेर अघि बढेको बताए ।
वार्षिक रु चार करोड राजश्व सङ्कलन गर्न कठिन हुने भीमदत्त नगरपालिकाले हाल रु १२ करोड राजश्व संकलनको लक्ष्यसहित अघि बढेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय र महाकाली अञ्चल अस्पतालको विकासका निम्ती सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख विष्टले पहिलो वर्षमै बजार क्षेत्रको सुरक्षाका लागि १८ वटा स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएको बताए ।
गत आवमा प्रदेश नं ७ मै उत्कृट नगरपालिका छनोट भएर सम्मानितसमेत भएको भीमदत्त नगरपालिकाले वितेको वर्षमा सडक निर्माण एवं विस्तारलाई व्यापक जोड दिएको छ । रौटेला, ब्रह्मदेव जैविक धार्मिक पर्यटकीयमार्ग निर्माणदेखि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण समेत थालनी नगरपालिकाले गरेको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडा पुग्ने चक्रपथ निर्माणदेखि छाडा पशुचौपायको व्यवस्थापनसम्मलाई आर्थिक बजेटमै समेटेर काम जारी राखेको नगरप्रमुख विष्टले जानकारी दिए । भीमदत्तको गुरुयोजना निर्माण गरी विकासमा लागेको बताउँदै उनले बजारको सरसफाइदेखि ढल निकासको कामसम्म दु्रत गतिमा भइरहेको जानकारी दिए ।
नगरपालिकाभित्रका अतिविपन्न ५०० दलित परिवारलाई सोलार वितरण, विद्युतको समस्या टार्न १५ वटा ट्रान्सफर्मर खरीद गरिएको छ । त्यसैगरी यहाँको धार्मिक पर्यटकीयस्थल झिलमिला ताल क्षेत्रमा दृश्यावलोकनका लागि रु ८० लाखको लगानीमा भ्यूटावरसमेत निर्माणाधीन अवस्थामा छ । एक लाख चार हजार ५९९ जनसंख्यामा रहेको भीमदत्त नगरपालिकामा २४ हजार ३७२ घरधुरी छन् । गत असारमा सम्पन्न भीमदत्त नगरपालिकाको तेस्रो नगरपरिषद्ले रु एक अर्ब १० करोड ६४ लाखको बजेट पारित गरेको छ । रासस
।