सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकाबाट २४० किलो कालो मरिच बरामद


बाँके । अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २४० किलो कालो मरिच शसस्त्र प्रहरीले नेपालगन्जको जमुनाहा नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नं. ३० गण बाँकेको टोलीले मरिच बरामद गरेको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बिसी नेतृत्वको टोलीले रु.१ लाख ५६ हजार मुल्य बराबरको कालो मरिच जमुनाहाबाट नियन्त्रणमा लिएको थियो । बरामद गरिएको मरिच र मरिच बोक्न प्रयोग गरिएको ना २ स ७२६ नम्बरको अटोरिक्सा आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यति ठूलो परिमाणमा बाँकेमा कालो मरिच समातिएको सम्भवतः यो पहिलो कालो मरिच बरामद गरिएको ३० नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ मा कुखुरा, लत्ताकपडा र मरिच गरी हालसम्म साढे ३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।
नेपालमा भन्दा भारतीय बजारमा कालो मरिचको मुल्य प्रतिकिलो रु.२०० भन्दाबढी पर्ने भएका कारण आयातकर्ताले भारततर्फ अवैधरुपमा लैजाने गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारत सरकारले किसानलाई प्रोत्साहन गर्न तेस्रो मुलुकबाट मरिच आयातमा कडाइ गरेपछि नेपालबाट यसको तस्करी बढेको सशस्त्र प्रहरीको दावी छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ०८:४३