सूचनाको शक्ति - The Power Of Information

        

क्षमताभन्दा बढी कैदीबन्दी, ३०० क्षमताको कारागारमा ६५८ जना राखियो


नेपालगन्ज । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउँछन् ।
नेपालगन्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्ग्न्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् ।
‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो,’ जेलर लामिछानेको भनाइ छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ ।
अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ । नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ ।
यी दुबै कारागार निर्माण भएपछि नेपालगन्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ०७:५६