रेनुका गिरी । बुटवल । प्रदेश पाँचमा बिहिबारदेखि बर्षे अधिवेसन अन्त्य भएको छ । प्रदेश पाँचका प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेसन अन्त्यसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पढेर सुनाएका थिए ।
यसअघि प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले आउँदो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा स्थापित गर्न चाहेको उल्लेख गरे । उनले अधिवेशनका क्रममा निर्माण भएका विभिन्न समिति ‘मिनी संसद’ भएको बताए ।
उनले प्रदेशमा रहेका विभिन्न प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानलाई प्रदेश सरकारको मातहत ल्याइएको जानकारी दिँदै सडक डिभिजनको कार्यालय प्रदेश मातहतमा नआएकाले पूर्वाधार विकास कार्यालयका रुपमा नयाँ कार्यालय गठन हुने जानकारी गराए ।
मुख्यमन्त्री पोखरेलले राजश्वको दरमा एकरुपता ल्याउन स्थानीय तहका प्रमुखसँग छलफल गरिने जानकारी गराउँदै भू–उपयोग नीति बनेपछि योजनावद्ध विकासको थालनी गरिने बताए । सो अवसरमा प्रदेशसभा सदस्य सन्तोष पाण्डे, अम्मरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी, भोजप्रसाद श्रेष्ठ, रामजी घिमिरे लगायतले धारणा राखेका थिए । दोस्रो अधिवेशनको बैठक २८ पटक बसेको थियो ।
यसैबीच, प्रदेश नं ५ को स्थायी मुकाम तोक्ने र नामाकरण गर्ने विषयमा १५ सदस्यीय समिति गठन भएको छ । सो समितिको सदस्यको नाम प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पढेर सुनाएका थिए ।
उक्त समितिमा प्रदेशसभाका सदस्य (कपिलवस्तु)का विष्णु पन्थी, चेतनारायण आचार्य (अर्घाखाची), कल्पना पाण्डे (अर्घाखाची), तारा जिसी (प्युठान), तुल्सीप्रसाद चौधरी (रुपन्देही), दिनेश पन्थी (गुल्मी), रोल्पाका दिपेन्द्र कुमार पुन, बर्दियाका दिपेश थारु सदस्य रहेका छन् ।
त्यस्तै पाल्पाका नारायणप्रसाद आचार्य, अर्घाखाचीका निर्मला क्षेत्री, बर्दियाका भूवनेश्वर चौधरी, रुपन्देहीकी रमा अर्याल, पाल्पाका वीरबहादुर राना, दाङका सरस्वती गौतम र कपिलवस्तुका सहसराम यादव सो समितिमा सदस्य रहेका छन् ।
समिति गठनको घोषणापछि प्रदेशसभालाई सम्वोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाका सदस्यलाई धेरै सुन्न र कम बोल्न आग्रह गर्दै निष्कर्षमा नपुग्दासम्म प्रतिवेदन सार्वजनिक नगर्न आग्रह गरे । उनले जनतालाई विभाजित गरेर निष्कर्षमा पुग्ने कुरा हितकारी नहुने बताए ।
उनले भने, ‘स्थायी मुकाम तोक्दा सबैका लागि स्वीकार्य भएपछि साझा निष्कर्षमा पुग्न सकिन्छ ।’ त्यस्तै प्रदेश पाँचको बिहिबारको बैठकले विशेषाधिकार समिति निर्माण गरेको छ । सो समितिमा रहेका प्रदेशसभाका सदस्यको नामावली प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तिले पढेर सुनाएका थिए ।
उक्त समितिमा दाङका अम्मरबहादुर डाँगी, रुपन्देहीका अष्टभूजा पाठक, गुल्मीका कमलराज श्रेष्ठ, अर्घाखाचीकी कल्पना पाण्डे, प्युठानकी तारा जिसी, रुकुमका तेजबहादुर ओली, बाँकेकी पार्वती पुन, रुपन्देहीका फखरुद्दिन खान, बाँकेका बाबुराम गौतम, रुपन्देहीका सन्तोषकुमार पाण्डे र प्युठानका हरिप्रसाद रिजाल रहेका छन् ।
।