सूचनाको शक्ति - The Power Of Information

        

बाढीको डरले पालैपालो सुत्छन् राप्ती किनारका बासिन्दा


काशीराम शर्मा । बाँके । जब मनसुन सुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले बर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राती सुत्दा पालो अनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो ।
राप्ती सोनारी गाउँपालिका–६ का स्थानीय रामचरण थारु भन्छन्, ‘बर्खामा गाउँभरीका स्थानीहरु पालो अनुसार सुन्तुपर्छ । सबैजना सुतेपछि बाढी आएको कसरी हल्लाखल्ला गर्ने ? सुतेकालाई जगाउने मान्छे त चाहियो ?’ उहाँका अनुसार राप्ती नदी किनारका स्थानीयको दिनचर्या बाढीकै त्रासमा वित्ने गरेको छ ।
गाउँमा कोही जाग्राम भएर बसेका हुन्छन् त कोही सुतिरहेका हुन्छन् । ‘राप्तीले हामीलाई धेरै पीडा दियो,’ वडा नं. ६ कै स्थानीय प्रेम चौधरीले भने, ‘यो त वर्षौदेखिको पीडा हो । हाम्रो पीडामाथि अहिलेसम्म मल्हम लागेको छैन ।’ हरेक वर्ष बर्षातपछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतियोग्य जमिनसँगै बस्तीहरु कटान गर्ने र डुबाउने गरेको छ ।
‘धेरै पटक निर्वाचन भए, तटबन्ध गरिदिन्छौं भन्दै नेताहरुले भोट मागे, सरकार धेरै फेरिए, हाम्रा दुख अहिलेसम्म फेरिएनन्,’ अर्का स्थानीय भरत डाँगीले भने, ‘चुनावका बेला तटबन्ध निर्माण गरिदिने सबै नेताको मुद्दा नै बन्छ । जितेपछि खै कहाँ र किन हराउँछ ?’ डेढ दशकअघि निर्माण सुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ, निर्माण सम्पन्न गर्न कुनै नेताले पहल नगरेको डाँगीको गुनासो छ ।
राप्ती नदी किनारका बासीन्दाले झेल्दै आएको पुरानै समस्या हो । राप्ती नदी कटानकै कारण कैयौं विगाहा खेतियोग्य जमिन बगरमा परिणत भइसकेको छ । ‘राप्ती कटानका कारण धेरैलाई सुकुम्वासी गराइसकेको छ, धेरैको उठीबास भएको छ,’ विनौनाका स्थानीय रामगोपाल चौधरी भन्छन्, ‘सरकारले नै जनताको जीउधन जोगाउने कुनै योजना ल्याएको छैन । निर्माण सुरु गरिएको राप्ती नदी तटबन्ध पनि अधुरै रह्यो ।’
बाढीबाट खेतबाली र घरगोठ क्षतिग्रस्त हुँदा घरमा भण्डारण गरेर राखेको खाद्यान्न समेत नोक्सान हुँदा स्थानीय बासिन्दा बिच्चलीमा पर्ने गरेका छन् । तर २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माणको काम भने अहिलेसम्म सकिएको छैन । नेपाल सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती किनारका करिब १ लाख जनतालाई बाढी र डुबानको चपेटाबाट बचाउन भन्दै निर्माण सुरु गरिएको तटबन्ध अझै अधुरै छ ।
नदीमा तटबन्धका लागि स–साना खुद्रे योजनाहरु र बाढी आएसँगै भत्किएर बग्ने गरेका कारण खेतियोग्य जमिन कटान र बस्ती डुवान रोकिएको छैन । ‘खुद्रे योजनाले नदी कटान रोकिँदैन,’ स्थानीय कमल थारु भन्छन्, ‘नदी कटान रोक्ने नै हो भने ठूलो परियोजना चाहिन्छ, खुद्रे योजना सञ्चालन गरेर राज्यको ढुकुटी राप्तीमा बगाइएको छ ।’
बाढी र डुबानको चपेटाबाट गाउलाई जोगाउन बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ को कार्यालयले आफ्नै बजेटबाट करिब ३० लाखको लागतमा नदीको कटानबाट उच्च जोखिममा रहेको सिधनियामा ८४ मिटर लामो पक्की तटबन्ध निर्माण गरेको छ । सिधनियामा तटबन्ध निर्माण गरेपछि यसले स्थानीयले केही राहत महसुस गरे पनि ढुक्क हुनसक्ने अवस्था भने छैन ।
वडा कार्यालयले वडाको विकास बजेटबाट तटबन्ध निर्माण गरी नदी कटानको उच्च जोखिमबाट गाउँलाई जोगाउन पक्की तटबन्ध निर्माण गरेको छ । बाढी र डुबानको चपेटाबाट गाउँलाई जोगाउने उद्देश्यले वडा कार्यालयमा आएको बजेटबाटै तटबन्ध निर्माणको काम सुरु गरिएको र आगामी वर्ष पनि तटबन्ध निर्माणको कामलाई निरन्तरता दिइने राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनक थारुले बताए ।
वडा नम्बर ६ लाई बाढीबाट जोगाउन करिब ६ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने वडाध्यक्ष थारुले जनाउनुभयो । ‘वडामा आउने बजेटले मात्रै सबै ठाउँमा तटबन्ध निर्माण सम्भव छैन । केन्द्र सरकारले गुरुयोजना बनाएर राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध गरेपछि मात्रै गाउँबस्तीलाई जोगाउन सकिन्छ,’ वडाध्यक्ष थारुले बताए ।
राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेको होलिया क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दाले लामो समयदेखि तटबन्ध निर्माणको माग गरिरहे पनि तटबन्ध निर्माणको काम पूरा भएको छैन । राप्ती कटान र बस्ती डुवानसँगै बर्सेनि करोडौंको क्षति हुँदै आएको स्थानीयबासी रामसिंह थारुले बताए । उनले भने, तटबन्ध नहुँदा नदीको कटानबाट हरेकवर्ष केही न केही खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १४:२३