सूचनाको शक्ति - The Power Of Information

        

सिसी क्यामराको निगरानीमा नेपालगन्ज उपमहानगर

बाँके । नेपालगन्ज उपमहानगरपालिकाको १६ वटा स्थानमा सिसी टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन १६ स्थानमा ५६ वटा सिसी टिभी जडान गरिएको छ ।
औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई आधुनिक सुरक्षा प्रर्णालीसँग जोडिएर सुरक्षित महशुस गराउन आधुनिक सुरक्षा प्रणाली अपनाएको नेपालगन्ज सिसी टिभी व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
उनले भने, ‘समितिले पहिलो प्रयास आफैबाट गर्नुपर्छ भन्ने मान्यताअनुरुप समितिमा रहेका २५ जना सदस्यबाट रु.२ लाख ५२ हजार एक सय संकलन गरी सिसी टिभी क्यामरा कोषसमेत निर्माण गरेका छौं ।’ क्यामरा खरीद तथा जडानमा रु.३३ लाख ९७ हजार २६८ रकम खर्चि भएको समितिले जनाएको छ ।
विभिन्न संघसंस्था र व्यवसायीबाट क्यामरा जडानका लागि रु.४५ लाख ७६ हजार १ सय संकलन भएको समितिका अध्यक्ष बैश्यले बताए । सिसी क्यामेरा जडानपछि नगरका विभिन्न स्थानहरु जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष निगरानीमा रहने छन् ।
समितिका उपाध्यक्ष प्रेम सुवेदीका अनुसार नेपालगन्जका राझा, भुजईगाउँ, कारकाँदौ, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अञ्चल अस्पताल चोक, त्रिभुवन चोक, त्रिवेणी चोक, सहिद सेतुविक चोक, बसपार्क चोक र बाइपास चौकलगायतका मुख्य चोकमा सिसी टिभी क्यामरा जडान गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले नेपालगन्जमा आज आयोजित कार्यक्रममा सिसिटिभी क्यामरा सञ्चालनको सुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:२०