सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली


बाँके । एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका ६ छोराछोरी बिचल्लीमा परेका हुन् ।
उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए । हाल टुहुराजस्तै बनेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् । कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताइन् ।
‘गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो छ तर पनि हामी जे खान्छौ उनीहरूलाई त्यही खुवाउँछौँ,’ आसराले भनिन्, ‘बालबच्चालाई कसैले सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने थियो । ससाना बच्चा छन्, कहिले काँही पढ्न जान्छन् तर प्राय मागेरै छाक टार्दै हिँड्ने गर्छन् ।’ ‘अरुको घरमा काम गरेर बालबच्चा र आफ्नो छाक टार्ने गरेकी छु,’ बेडवाकी आमा सुन्दरीया खानले भनिन्, ‘छोरा कारागारमा बसेपछि उस्का सन्तानलाई समस्या भएको छ । कसैले वास्ता नगरेकाले तिनले छाक टार्नकै लागि छिमेकीका गाईगोरु चराएर गुजारा चलाउने गरेका छन् ।’

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०९:२६