उपचारका क्रममा विद्यार्थीको मृत्यु, युनिभर्सल मेडिकल कलेजमा तोडफोड
।
रेनुका गिरी । बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको बिषयलाई लिएर आज दिनभर मेडिकल कलेज तनावग्रस्त रह्यो । कलेजमा दन्त चिकित्सक विषय अध्ययन गरिरहेका विद्यार्थी महादेव शाहको उपचारका क्रममा निधन भएपछि स्थिति तनावग्रस्त बनेको हो ।
चिकित्सक र कलेजको लापरवाही भएको आरोप लगाउँदै त्यहाँ अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएपछि स्थिति तनावग्रस्त भएको र अस्पतालको करोडौं क्षति भएको जनाइएको छ । विरामी भई उपचारका लागि कलेजमा भर्ना भएका विद्यार्थी शाहका मृत्यु भएपछि आक्रोशित विद्यार्थीको समूहले अस्पतालको सघन उपचार कक्ष आइसियु लगायतका कक्षहरुमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
तोडफोडबाट आइसियु कक्षका उपकरणसमेत क्षतिग्रस्त भएकाले करोडौं रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ । नितम्बमा आएको पिलोको उपचार गर्ने क्रममा आफ्नै सहकर्मी साथीको मृत्यु भएको र यसमा चिकित्सक तथा अस्पतालको गम्भीर लापर्बाही रहेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएका छन् ।
सोही कलेजमा विडिएस १३ औं ब्याचको अन्तिम बर्षमा अध्ययनरत २४ वर्षिय महादेव शाह पिलोको उपचारका लागि शनिबार अस्पस्तालको आकस्मिक कक्षमा भर्ना भएका थिए । जुनियर डाक्टरले जथाभावी औषधी चलाउँदा उनको स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएको मृतक शाहका सहपाठीले बताएका छन् ।
उपचारमा लापर्बाही र हेलचक्राइँ भएकोले सिनियर चिकित्सक पठाउन प्रिन्सिपल र मेडिकल सुपरिटेन्डेन्टलाई समेत भने पनि उनीहरुले कुनै चासो नदिएकाले जथाभावी औषधि दिएका कारण उनको मृत्यु भएको मृतकका सहपाठीहरुले बताएका छन् । आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक पवन बरालले जानकारी दिए ।
आक्रोशित विद्यार्थीहरुले प्रशासनविरुद्ध नाराबाजी गर्दै आइसीयु कक्षका सिसासमेत तोडफोड गरेका छन् । कलेजमा अध्ययरन अधिकांश विद्यार्थीहरु आन्दोलनमा उत्रिएर तोडफोड गरेपछि अस्पतालमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । जनकपुर पदमुक्काका महादेव शाह तीन महिनापछि दन्त चिकित्सक भएर निस्किदै थिए ।
घरको आर्थिक अवस्थासमेत कमजोर भएका शाहको मृत्यु भएपछि अस्पतालमा आएकी उनकी आमा अर्धचेत अवस्थामा छिन् । विहानै मृत्यु भएको विरामीको आइसीयुबाट उनको शवसमेत उठाएका छैनन् ।
।