सूचनाको शक्ति - The Power Of Information

        

ज्ञानोदय पुस्तकालयमा राजनीतिकरण गर्न खोजेको भन्दै अधिकांश सदस्यले गरे साधारणसभा बहिस्कार


बाँके । बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा राजनीतिकरण गर्न खोजिएको आरोप लागेको छ । १७ औं वार्षिक साधारणसभा तथा अधिवेशन चलिरहँदा वर्तमान कार्यसमितिले निर्णय नै नगरी १५० जना साधारण सदस्य थप गरेर काँग्रेसीकरण गर्न खोजेको पुस्तकालयका आजिवन सदस्य महेश बस्नेतले बताए ।
उनले साउन १ गतेको कार्यसमितिको बैठकले साधारण सदस्य र आजिवन सदस्य माग गर्ने निवेदन माथि छलफल गर्दा आजिवन सदस्य मात्रै वितरण गर्ने निर्णय गरिएको भए पनि निर्णय विपरित १५० सदस्य थप गरेर पुस्तकालय कब्जा गर्न खोजेको दावी गरे । साधारण सदस्यता वितरण गर्न विधानले नरोकेको भए पनि समितिको निर्णयमा साधारण सदस्यता वितरण गर्ने निर्णय नभएको उनको भनाई छ ।
सदस्यताको विषयलाई लिएर अधिकांश सदस्यहरुले पुस्तकालयको साधारणसभा बहिस्कार गरेका छन् । निर्णयविपरित थप गरिएका साधारण सदस्यहरुको सदस्यता खारेजीपछि मात्रै आफुहरु अधिवेशनमा सहभागी हुने आजिवन सदस्य तेजप्रसाद चापागाईले बताए । उनले आफुहरुले पटक पटक ध्यानकर्षण गराउँदासमेत वर्तमान कार्यसमितिले समाधान खोज्नुको सट्टा काँग्रेसीकरण गर्न खोजिएको बताए ।
निर्णय विपरित थप गरिएका साधारण सदस्यलाई हटाएर साधारणसभा तथा अधिवेशनको अर्को मिति तय गर्न अधिकांश सदस्यहरुले माग गरेका छन् । साधारणसभाबारे अधिकांश आजिवन सदस्यहरुलाई जानकारी नै दिइएको समेत आरोप लगाइएको छ । पुस्तकालयको साधारण सभाको १५ दिनअघि नै सदस्यहरुलाई जनकारी दिनुपर्ने वैधानिक व्यवस्था भए पनि धेरै सदस्यहरुलार्य जानकारी नभएको जनाइएको छ ।
चापागाईले साधारण सदस्यहरुको नामावली साउन ८ गते मात्रै टुंगिएको भए पनि पुरानो मितिमै पत्र काटिएकोमा गम्भीर आपत्ती रहेको बताए । साउन १ गने आजिवन सदस्यहरुको नामावली स्वीकृत गरिएको भए पनि ८ गतेसम्म पैसा तिरेर सदस्य बन्ने समय तोकिएकाले ८ गते मात्रै सदस्य टुंगो लागेको उनको दावी छ । साधारणसभाको निम्तोपत्रमा साउन ४ कै मिति राखिएको छ ।
पुरानो मितिमा चिठी काटेर हतारहतार साधारण सभा गर्नु, निर्णय नभएका सदस्यलाई साधारण सदस्य बनाएर साधारणसभा तथा अधिवेशन गर्नुले पुस्तकालय कब्जा गर्ने मनसाय रहेको बुझिने उनको दावी छ । आजिवन सदस्य चापागाईले साधारण सभाको उद्घाटन सत्रमा ६० प्रतिशत सहभागिता चाहिने भन्दै केहि आफु नजिकका मानिसहरुलाई मात्रै बोलाएर उद्घाटन सत्रको नाटक मञ्चन गरिएको भन्दै आक्रोश ब्यक्त गरे ।
साधारण सभाको उपस्थितिका लागि प्रयोग गरिएको रजिस्टर नाटकिय ढंगले कब्जा गरी फर्जी हस्ताक्षर गरिएको हुनसक्ने उनको आशंका छ । यता पुस्तकालयको सदस्यता वितरणमा स्वेच्छाचारी भएको भन्दै केही साधारण सदस्यले जिल्ला प्रशासन कार्यलयमा दिएको निवेदनमाथि छलफल गर्नका लागि पुस्तकालयका अध्यक्ष लिलबहादुर रानालाई आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बोलाइएको छ । शुक्रबार एक समुहले सदस्यता बिवाद छानबिनका लागि निवेदन दिएसँगै छलफल गर्न रानालाई प्रशासनले बोलाएको हो ।
अध्यक्ष रानाले सदस्यता विवादबारे प्रशासन कार्यालयले बोलाएको स्वीकार गर्दै आइतबार सबै आधार र प्रमाणसहित आफु प्रशासन कार्यलय जाने बताए । अध्यक्ष रानाले एक पक्षले बहिस्कार गरे पनि बहुमत सदस्यसहित शनिबार उद्घाटन सत्र सम्पन्न भएको दावी गरे । उनले वर्तमान कार्यसमिति बिघटन गरि निर्वाचन सम्पन्न गर्न अध्यक्ष मण्डल गठन गरिएको र मंगलवार चुनाव गरी नयाँ कार्यसमिति चयन गरिने बताए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आइतवार ०४:४८