बाँकेको गाभर भ्याली होमस्टेमा बाह्य पर्यटकलाई स्वागत गरिँदै ।
काशीराम शर्मा । बाँके । नेपालगन्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग । उनी भन्छन्, ‘यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ । नेपालगन्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । प्राकृतिक सौन्दर्यता मनमोहक छ ।’
आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवर्धनका लागि सबैको साथ चाहिने बताउँछन् । उनी भन्छन्, ‘म प्रकृतिलाई माया गर्छु ।’ छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।
‘मानसिकरूपमा बोझ बढेका बेला यहाँ आउँदा आनन्द हुन्छ,’ नेपालगन्ज–५ का दीपक शाही भन्छन्, ‘हामी निम्नवर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो । म यहाँ धेरै पटक साथीसँग आएको छु ।’ उनी पनि थारु संस्कृति र परिकारबाट निकै प्रभावित हुन्छन् । थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबास(होमस्टे)मा दैनिक करीब कम्तिमा १५० पर्यटक पुग्ने गरेका छन् ।
नेपालगन्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटक त्यहाँ पुगेर रमाउने गर्दछन् । चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको बताउँछन्, नेपालगन्जका व्यवसायी गोकर्ण न्यौपाने । उनी भन्छन्, ‘थारु र मुगेली समुदायको बस्ती रहेको गाभरमा दुईखाले संस्कृति छ । गाभर भ्यालीलाई थारु र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ ।’
न्यौपानेले वन विज्ञान तथा संस्कृति सम्बन्धी अध्ययनरत विद्यार्थीको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्नुपर्ने बताए । पर्यटकको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकसमेत होमस्टेको स्तरवृद्धि गर्न तल्लिन छन् । वातावरण संरक्षणकर्मी अध्यक्ष हेमन्तराज काफ्लेले भने, ‘गाभर क्षेत्र प्रकृतिकै बरदान रहेछ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके मध्यपश्चिमकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’
होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमा समेत परिवर्तन आएको छ । विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ । गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले पर्यटक आगमन वृद्धिसँगै होमस्टेको संख्या बढाउने तयारी गरिरहेको बताए ।
उनले भने, ‘हामीले पाहुनाको स्वागतका साथै थारु परिकार, सामुदायिक वनमा चरा अवलोकन, जंगल सफारी लगायतका पर्यटकीय गतिविधि गरिरहेका छौँ ।’ चार वर्षअघि एउटा घरबाट शुरु गरेको होमस्टेको संख्या हाल आठ पुगेको छ भने ४० जनालाई एकैपटक बास बसाउन सकिने गरी कोठा व्यवस्थापन गरिएको छ ।
गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्वीट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइन लगायतका विभिन्न मुलुकबाट हालसम्म दुई सय बाह्य पर्यटकले भ्रमण गरिसकेका छन् । अधिकांश बाह्य पर्यटक अध्ययन अनुसन्धानका लागि आउने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।
।