काठमाडौं । देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेख अनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ ।
गतवर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यसवर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ ।
गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिकटन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । आव २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिकटन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।
मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वमा समेत वृद्धि भई कूल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ ।
मौसमको प्रतिकूलता, दैवीप्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । मौसमको अनकूलता हुँदा उत्पादनमा पनि वृद्धि हुने गर्दछ । मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ ।
धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ ।
विसं २०६६ देखि चार वर्षसम्म धानको उत्पादनमा ४० लाख लाख मेट्रिक टनको हाराहारीमा भएको भए पनि विसं २०७० देखि हालसम्म निरन्तर ५० लाख मेट्रिकटन भन्दाबढी उत्पादन भएको छ । पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकास भएका कारण उत्पादन बढेको पाइन्छ ।
स्वदेशमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिकटन खानयोग्य चामल बन्ने गर्दछ । देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब आठ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गत वर्ष करीब रु २६ अर्ब बराबरको चामल आयात भएको अभिलेख छ ।
अर्थविद् राधेश्याम मालाकारले देशमा हुने उत्पादनभन्दा बढी वस्तु उपभोग गरिएमा विदेशबाट आयात बढाउनुपर्ने बताउँदै त्यसले व्यापार घाटा वृद्धि भई देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने विचार व्यक्त गरे ।
मुलुकका विभिन्न स्थानमा उत्पादन हुने गहुँ, मकै, कोदो, फापर लगायत खाद्य सामग्रीको राम्रो उत्पादन हुने गरे पनि त्यसको उपभोगमा कमी आएका कारणले चामलको आयात बढेको छ । देशभर गहुँ २० हजार मेट्रिकटन, मकै २३ लाख मेट्रिकटन, कोदो तीन लाख मेट्रिकटन उत्पादन हुने गरेको छ । रासस
।