सूचनाको शक्ति - The Power Of Information

        

पानी संरक्षणमा गर्न बहुउपयोगी कृत्रिम जलाशय निर्माण

बालाराम खड्का । तुलसीपुर । पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो ।
उक्त अभियानबाट जलवायु परीवर्तनको असर न्युनीकरण गर्न र वातावरणीय सन्तुलन राख्नुका साथै किसानको जीवनस्तरमा समेत सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ । उक्त उपमहानगरपालिकाले एक दर्जन कृत्रिम जलाशय बनाएको छ । यी जलाशयले स्थानीय किसानलाई बेमौसमी तरकारी खेतीदेखि माछापालनमा समेत सहयोग मिलेको छ ।
सो उपमहानगरपालिका–१७ आरोग्य टोलका अधिकांश किसानले धान रोपाइ सकिसकेका छन् । सिँचाइको पानी नलाग्ने एकाध स्थानबाहेका अन्यत्र यस्तै जलाशयको उपयोगले धानखेतीमा समेत प्रत्यक्ष फाइदा पुगेको उनीहरूले बताए । स्थानीय किसानले त्यसलाई आमा जलाशय पनि भनेका छन् ।
कृत्रिम जलाशयमा वर्षभरि जम्मा भएको पानीले अहिले आरोग्य टोल लगायतका विभिन्न टोलमा गरी ५० विगाहा बढी जमिनमा ती जलाशयकै पानीबाट धान रोपिएको आरोग्य कृत्रिम जलाशय व्यवस्थापन समितिका अध्यक्ष हिरामणि पोखरेलले बताए । ताल निर्माणसँगै किसानलाई वर्षे तथा हिउँदे खेती गर्न समेत सुविधा भएको उनको भनाइ थियो ।
सिँचाइसँगै तालमा पानी जम्मा हँुदा गाउँमा अहिले इनारसमेत सुक्न छाडेको आरोग्य टोलकै प्रकाश ज्ञवालीले बताए । पहिलेका वर्षमा हिउँदे याममा स्थानीयलाई पिउनेपानीको समेत समस्या हुने गरेकामा पछिल्लो समय इनार सुक्न छाडेको ज्ञवालीले बताए । टोल विकास संस्थाले पोखरीमा माछापालन गरेर आर्थिक आम्दानीसमेत गर्दै आएको छ ।
ज्ञवालीका अनुसार आरोग्य टोल विकास संस्थाले यस आर्थिक वर्ष तालबाट करीब रु ५० हजारको माछा बिक्री गरेको छ । उक्त रकम ताल संरक्षणसँगै टोल विकास संस्थाले उपयोगमा ल्याउने गरेको छ । ताल निर्माण वरपरको वातावरण हरियाली हुनुका साथै गाईभैँसीलाई पानी खुवाउन समेत सहज भएको छ । ताल करीब रु आठ लाखको लगानीमा निर्माण गरिएको थियो ।
त्यस्तै वडा नं १८ को सालघारीमा पनि करीब २५ विगाहा जमिनमा धान रोपाइँ गरिएको स्थानीय फलबहादुर रेश्मीमगरले बताए । कृत्रिम जलाशय निर्माणसँगै किसानलाई खेती गर्न सहज भएको उनले जानकारी दिए । कृत्रिम जलाशयकै निर्माणका क्रममा गाउँमा सडक सुविधा पनि पुगेको यहाँका बासिन्दाले बताए ।
पानीको स्रोत सुक्दै गएपछि उक्त उपमहानगरपालिकाले सुरुवात गरेको कृत्रिम जलाशय निर्माण गर्ने अभियानले पछिल्लो समय पानीको स्रोतको संरक्षणसँगै कृषि व्यावसायमा सिँचाइको समेत सुविधा पुग्ने गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘सुक्दै गएको पानीको स्रोत संरक्षण गर्ने उद्देश्यले कृतिम जलाशय निर्माणको कार्य थालनी गरेका थियौं,’ प्रमुख चौधरीले भने, ‘पानीको मुहान संरक्षणसँगै किसानलाई खेतीमा सहयोग मिलेको छ ।’ रासस

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार ०६:५३