बाँके । नेपालगन्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगन्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगन्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ ।
बाँके राष्ट्रिय निकुञ्जले छाडा पशुचौपाया निकुञ्ज क्षेत्रमा छाड्न प्रतिबन्ध लगाएको छ । नेपालगन्ज, कोहलपुर, बासगढी क्षेत्रमा छाडा रहेका पशुचौपाया निुकञ्जमा लगेर छाड्न थालेपछि प्रतिबन्ध लगाइएको बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
चौपायालाई निकुञ्ज क्षेत्रमा छाड्दा उनीहरुको रोग वन्यजन्तुमा सर्ने सम्भावना रहेको र बाघले रोगी चौपायालाई खाँदा मर्नसक्ने खतरा रहेका कारण प्रतिबन्ध लगाइएको उहाँको भनाई छ । प्रमूख संरक्षण अधिकृत पुनले भन्नुभयो, ‘बाघ तथा वन्यजन्तुमा घरपालुवा जनावरमा रहेको खोरेतजस्ता संक्रमित रोगहरु सर्न सक्ने र त्यसबाट जंगली जनावर नै सखाप हुने खतरा भएकोले पनि निकुञ्ज क्षेत्रमा घरपालुवा जनावर छाड्न दिँदैनौं ।’
तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगन्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ । बुधवार अपराह्न छाडा चौपाया लिएर निकुञ्ज क्षेत्रमा पुगेको नगरपालिकाको पाँचवटा ट्रकलाई नेपाली सेनाले फिर्ता पठाएपछि समाधानको यो प्रयास पनि तुहिएको छ ।
निकुञ्जले यसअघि जंगल क्षेत्रमा पशु चौपाया छाड्ने कार्यप्रति आपत्ति जनाउँदै आएको थियो । नेपालगन्जको फूलटेक्रामा (सानो आकारको कान्जी हाउस) सबै छाडा चौपाया नअट्ने भएपछि निकुञ्ज आसपास छाडने गरिएको थियो । निकुञ्जले पनि यसमा पूर्णविराम लगाएपछि अहिले नेपालगन्जका पदाधिकारी रनभुल्लमा परेका छन् ।
‘हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुन सक्छ,’ नगर प्रमुख डा धवलशम्शेर राणाको प्रश्न छ । नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्वारा सिर्जित समस्या मात्र होइन ।
सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको संख्यामा पशु यता धपाउने गरिएको छ । वर्षात् शुरु भएपछि ढुवानी कारोवारीले ल्याएका खच्चरमध्ये रोगी, थाकेका र मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले छाडा चौपायाको समस्या झन बल्झिएको छ ।
केही समयअघि नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो ।
बाघ संरक्षणको लागि स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रोगी पशुचौपाया छाड्दा बाघको आहाराजन्य वन्यजन्तुलाई रोग सरेर मर्ने सम्भावना बढी हुने भएकाले प्रतिबन्ध लगाइएको उहाँको भनाई छ । छाडा पशुचौपायाकै कारण नेपालगन्ज र कोहलपुर क्षेत्रबाट गाई, गोरु र खच्चड ट्रकमा लोड गरेर सम्शेरगन्ज, कचनापुर र कुसुम क्षेत्रमा छाड्दा स्थानीय किसानको बालीनाली समेत सखाप पार्ने गरेका छन् ।
।