सूचनाको शक्ति - The Power Of Information

        

बन्गाड खोलामा बाढी, यातायातका साधान बाटोमै अलपत्र


दुर्गा विसी । सल्यान । छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको बाढीका कारण उक्त सडकखण्डमा विहानैदेखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा विहानैदेखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका छन् ।
खोलामा आएको बाढी आएपछि केही सवारी खोला पार गर्दा खोलामै फसेपछि नगरपालीकाको डोजरले उद्दार गरेको छ । काठमाडौं, नेपालगन्ज, सुर्खेत हुँदै विभिन्न स्थानबाट हिँडेको गाडीहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यलय सल्लीबजार जनाएको छ ।
सवारी साधानसँगै यात्रुहरु अलपत्र परेका छन् । बन्गाड खोलामा समयमा पुल नबन्दा नागरिकले सास्ती खेपिरहेका छन् । पुलको जिम्मा पाएको आशिष निर्माण सेवाले समयमा कामप्रति तदारुकता नदेखाउनले वर्षातमा आवतजावतमा कठिनाई भएको छ ।
त्यसैगरी सल्लीवजारदेखि रुकुम चौरजहारी सडक खण्डको नाथेखोलामा पनि निर्माणधिन पक्की पुलको कामको जिम्मा लगेका ठेकेदार भागेपछि सवारी साधान आवतजावत ठप्प रहेको छ । नाथैखोलामै निर्माणधिन कल्भर्टको कामसमेत ठेकेदारले अलपत्र पारेर भागेको स्थानीयले वताए ।
निर्माणधिन पक्की पुलसँगै अर्को खोलामा कल्भर्ट निर्माण नभएपछि सबै यातायातका साधान खोलामा फसेका छन् । वर्षातमा आधा काम गरेर निर्माण व्यवसायी भाग्नले समस्या आइपरेको स्थानीयको गुनासो छ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण दुवै सडक खण्ड बन्द भएका छन् । बन्गाड कुपिण्डेको अन्य ग्रामीण सबै सडकहरु भने पहिले नै बन्द भएका छन् । नगरका नयाँ खनेका अधिकांश ग्रामिण सडक पूर्णरुपले बन्द छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार ०२:१७