सगरमाथा ब्रान्डको ओपिसी सिमेन्ट गुणस्तरहिन, उत्पादन तथा बिक्री वितरण रोक्का
।
दाङ्ग । घोराहीको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगको ओपिसी सिमेन्ट उत्पादन गुणस्तरहिन भएको पाइएको छ । गत जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसी सिमेन्टको नमूना गुणस्तर तथा नापतौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएको थियो ।
उक्त सिमेन्ट गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएपछि बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको छ । गुणस्तर अनुरुप नभएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रक्रिया अगाडी बढाइएको बर्दिया प्रशासनले जानकारी दिएको छ ।
पत्र सख्या ०७५÷०७६ रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी महेन्द्रजङ्ग शाहीद्वारा हस्ताक्षरीत प्रेस नोटमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन तथा बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको उल्लेख गरीएको छ ।
।