सूचनाको शक्ति - The Power Of Information

        

बारेकोटमा भेटियो विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड

हेमन्त केसी । जाजरकोट । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।
गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुँड सारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए । समुद्री सतहदेखि सातसय मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुँडमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको सिंहले बताए ।
सिंहले भने, ‘उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुँड लगाएर अहिले अण्डा कोरली रहेको छ ।’ अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गुँड समुद्री सतहबाट एक हजार ५१४ मिटरको उचाइमा रहेको छ ।
सात सय मिटरको उचाइमा गुँड भएको सेतो गिद्धभन्दा एक हजार ५१४ मिटरको उचाइमा गुँड भएको सेतो गिद्ध निकै सक्रिय भएको अनुसन्धानकर्ता सिंहको भनाइ छ । उक्त जंगलमा गुँड भएको सेतो गिद्धले पहिले नै गुँडको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उनले जानकारी दिए । सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गुँड पनि पहिलोपटक जाजरकोटको बारेकोटमा फेला परेको छ ।
समुद्री सहतदेखि एक हजार ४०० मिटरको उचाइमा मलाहा हुँचीलको गुँड फेला परेपछि नेपालमै मलाहा हुँचीलकोे नौलो अभिलेखीकरण भएको छ । बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गुँडमा मलाहा हुँचीलले अण्डा कोरलेर दुईवटा बच्चा उडाइसकेको पक्षी अनुसन्धानकर्ता सिंहले जानकारी दि । उनका अनुसार हुँचीलविज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गुँड नै सबैभन्दा अग्लो गाउँमा रहेको गुँड भएको प्रमाणित गरिसकेका छन् । रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १०:०३