सूचनाको शक्ति - The Power Of Information

        

मापदण्डविना खनिएका सडकमा सवारी बढी दुर्घटना

रोल्पा । मापदण्डविना खनिएका जिल्लाका सडकमा सवारी दुर्घटना बढिरहेको छ । अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ । मापदण्डविना स्थानीय उपभोक्ताले आफूखुशी सडक निर्माण गर्दा दुर्घटना बढ्दै गएको हो ।
जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० वटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए । आव २०७३/७४ मा ३६ वटा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ गम्भीर तथा २७ जना समान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले जानकारी दिए ।
यस्तै आव २०७४/७५ मा ३० वटा सडक दुर्घटना भएकामा १४ जनाको मृत्यु तथा १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए । ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीले बताए । भौगोलिक बनावट अनुसारको मापदण्डविना जथाभावी रुपमा सडक खनिएका कारण सवारी दुर्घटना बढ्दै गएको छ ।
साँघुरा सडक तथा ती सडकमा मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ । भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वली बताउँछन् । ‘शिकारु चालकका कारण समेत बढी दुर्घटना हुने गरेको पाइएको छ,’ उनले भने ।
दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका धनी, चालक र परिचालकलाई समय समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सामान ढुवानी गर्ने ट्याक्टरमा यात्रु बोक्नमा कडाइ गरिएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार ०६:५९