सूचनाको शक्ति - The Power Of Information

        

वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहामा, साउन १६ देखि व्यावसायिक उडान


रमेश लम्साल/सिबी अधिकारी । काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गतेदेखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।
‘दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो,’ महाप्रबन्धक कंसाकारले भने, ‘प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ ।’
वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाज गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाएको छ ।
‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाआ)ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ ।
निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १५:३७