बाँके । नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापरवाही देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधिन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापरवाही देखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।
१५ महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अब्यवस्थित रुपमा सञ्चालित नेपालगन्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुन म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु.२० करोड लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले रु.१४ लाख ९४ हजार रुपैयाँमा ठेक्का लिएको नेपालगन्ज उपमहानगरपालिकाका इञ्जिनियर सुरजकुमार गुप्ताले बताउनुभयो । साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो ।
बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो । निर्माण कम्पनीले मुख्यद्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ । बसपार्क क्षेत्र हिलाम्मे र धुलाम्मे हुँदा अन्य व्यवसायीलाई समेत समस्या परेको छ ।
सवारी साधनलाई पार्किङ्ग गर्न सहज हुने र यात्रीहरूलाई सुविधा सम्पन्न बसपार्कको अनुभव गराउन निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीहरुले पनि दबाव बनाउँदै आएका थिए । हरेक गाडीबाट दैनिक २० रुपैयाँदेखि सय रुपैयाँसम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ ।
यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने योजना सुरु भए पनि हालसम्म निर्माण कार्य पुरा नहुँदा बीचमै अल्झिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर गुप्ताले ठेकेदारले सम्झौताको अन्तिम समयमा मात्र काम गर्ने प्रवृत्तिले निर्माणमा समस्या भएको बताए । इन्जिनियर गुप्ताले भन्नुभयो, ‘समयमै ठेकेदारले काम नसकेकाले दोस्रो पटक म्याद थप गरिसकिएको छ ।’ उनका अनुसार यही बैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ । तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन ।
इन्जिनियर गुप्ताका अनुसार निर्माण सुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको दुई महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ । बसपार्कमा महत्वपूर्ण संरचना निर्माणलगायत ७० प्रतिशत काम अझै बाँकी छ । युनाइटेड बिल्डर्स कम्पनीका इन्जिनियर सुशीलचन्द्र पौडेलले दोस्रो सम्झौताको तीन महिनामा ४५ प्रतिशत काम सक्नुपर्ने सहमति भएको थियो । उहाँले भन्नुभयो, ‘हामीले यो दुई महिनामा प्रतिमहिना ४५ प्रतिशत काम सक्नैपर्ने बाध्यता छ । यदी सकिएन भने निर्माण कम्पनीले प्रतिदिन ०.५ प्रतिशत अर्थात प्रतिदिन करिब ७५ हजार जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।’
उहाँका अनुसार यही साउन ४ गतेसम्म निर्माण कार्य प्रगति ७० प्रतिशत पु¥याउनुपर्ने बाध्यता रहेकाले निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ । अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क बनाउने योजना ठेकेदारको लापरवाहीका कारणसुस्त भएको बसपार्क निर्माणका लागि प्राविधिक रेखदेख तथा अनुगमन जिम्मा पाएको सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो कुरा त ठेकेदारकै लापरवाही हो । ठेक्का सम्झौताका क्रममा उपमहानगर र ठेकेदारबीच साइट क्लियर र पुराना संरचना भत्काउने विषय उल्लेख नहुँदा काम गर्ने क्रममा त्यसको जिम्मा कसले लिने भन्ने अन्यौलता भयो । त्यसले पनि काममा केही ढिलाई भयो ।’
इन्जिनियर भट्टराईले समयमै साइट क्लियर नहुनु, पुराना संरचनाहरु समयमै नभत्किनु र नाकाबन्दीका कारण सामान आपूर्तिमा ढिलाई भएका कारण निर्माण कार्य प्रभावित भएको बताउनुभयो । ‘निर्माण कम्पनीले आवश्यकताअनुसार जनशक्ति परिचालन गर्न सकेन । हामीले पटकपटक ताकेता गरे पनि ठेकेदार पक्षले चासो नदेखाउँदा निर्माण लम्बिएको हो,’ भट्टराईले भन्नुभयो, ‘अधिकांश महत्वपूर्ण संरचना निर्माण बाँकी छ । वर्षायाम सुरु भएकाले काम पूरा हुन केही समय लाग्ने देखिन्छ ।’
ठेक्का सम्झौताको समय सकिए पनि टर्मिनल ब्लक, शौचालय लगायतका संरचनाको समेत निर्माण पूरा भएको छैन । टर्मिनल ब्लक, शौचालय र टिकट काउन्टर ब्लकको छानो छाउन बाँकी रहेको बसपार्कको प्राविधिक फाँट हेर्ने इन्जिनियर भट्टराई बताउनुहुन्छ । ‘अहिलेसम्म कुनै संरचना पूरा भएको छैन,’ उहाँले भन्नुभयो । शौचालयका लागि २ वटा सेफ्टी ट्यांकी, ओभरहेड वाटर ट्यांकको फाउण्डेशन निर्माणको काम करिव सकिएको छ । बाउण्ड्री वाल, पार्किङस्थल, प्रवेशद्वार, यात्रु प्रतीक्षालय, पार्किङ स्थल, पिचिङ एरिया, ग्रीन बेल्ट लगायतका संरचना निर्माण कार्य अझैँ सुरुवात नै भएको छैन ।
‘गाडी कहाँ पार्किङ्ग गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ,’ नेपालगन्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले निर्माणको गति हेर्दा बसपार्कको पूरै संरचना निर्माण हुन अझै कति वर्ष लाग्ने हो भन्ने अनुमान गर्न सकिँदैन । ‘बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानको प्रयोग गर्न थालेका छौं । टिकट काउन्टरसमेत भद्रगोल छन्,’ उनले भने, ‘निर्माणका नाममा जथाभावी छ, यस्तो अवस्थामा कसरी यात्रुले सुरक्षित टिकट काट्ने र हामीले बसपार्कबाट गाडी सञ्चालन गर्न सक्छौं ?’
बस खोज्न र टिकट काउण्टर पत्ता लगाउन यात्रुलाई मुस्किल पर्ने गरेको छ । निर्माणकै क्रममा रहेकोले सानो पानी पर्दा हिलाम्मे हुने गरेका कारण बस सडकमै पार्किङ गर्नुपरेको चालक राजकुमार बिक बताउँछन् । सडकमा पार्किङ गर्दा बसहरु असुरक्षित हुने र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुने गरेको उनी बताउँछन् । नेपालगन्ज बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६ सय बढी साना ठूला बसहरू सञ्चालनमा रहेका छन् ।
।