काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्ने गरी समायोजन गरिने जानकारी दिए ।
तीनै तहको दरबन्दी स्वीकृत भइसकेकाले आउँदो भदौदेखि समायोजन प्रक्रिया शुरु गरिने उनले बताए । कर्मचारी संघ, प्रदेश तह र स्थानीय तहमा समायोजन गर्नका लागि मन्त्रालयले समायोजन ऐन–२०७४ जारी गरिसकेको छ । ‘हाम्रो प्राथमिकता सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारीका परिपूर्ति रहेको छ,’ उनले भने, ‘समायोजन गर्दा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी पूरा हुने किसिमले गरिने छ ।’
अहिले करीब १५ हजार स्थानीय तहमा कर्मचारी अपुग छन् । संघमा ४५ हजार ८१५, प्रदेशमा १६ हजार ५७० र ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुंग्याइएको छ । अहिले भएका सबै कर्मचारी संघमा रहेकाले तिनलाई नै स्थानीय तहमा पठाइने उनले बताए । प्रदेशमा भने यसअघिका क्षेत्रीय निर्देशनालय कार्यालयका कर्मचारी जानेछन् ।
यसैगरी मन्त्रालयले आज ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ । प्रवक्ता अधिकारीका अनुसार भर्खरै नियुक्त ८० शाखा अधिकृत कर्मचारीलाई रिक्त स्थानीय तहमा पठाइएको छ । अझै करीब सय शाखा अधिकृत स्थानीय तहका लागि अपुग छन् । उनले दैनिकजसो कर्मचारीलाई स्थानीय तहमा पठाइने गरेको बताए । रासस
।