सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारीलाई कारबाहीको माग गर्दै सांसदहरु आक्रोशित

हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त ।

हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदहरुले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिँदै आक्रोश व्यक्त गरेका छन् ।
दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।
सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गरे ।
सांसद निरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरिन् ।सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे ।
सांसद प्रमिला राईले महिला एवम् बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरिन् । सांसद बालकृष्ण खाँडले महंगी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराए । शून्य समयमा देवप्रसाद गुरुङ, देवप्रसाद तिमिल्सिना, नन्दलाल रोकाया क्षेत्री, नवराज रावत, नवराज सिलवाल लगायतले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतवार ०७:०३