भावी प्रधानन्यायाधीश जोशीको प्रमाणपत्रमा समस्या, संसदीय सुनुवाई स्थगित
।
काठमाडौं । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय आजका लागि स्थगित भएको छ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक भोली सोमबार दुई बजे बस्ने भएको छ ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचार सम्बन्धी फैसला लगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।
समितिको बैठक आज बिहान बस्ने भनिए पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर रहेका र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिइन् । भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो ।
संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।
।